ताजा अपडेट »

सञ्चारकर्मीले टेलिकम र प्रशासनलाई बुझाए राउटरसहित ज्ञापनपत्र

बुधबार, ०१ मंसिर २०७८, १९ : ५१
2 Shares

बाजुरा । इन्टरनेट सेवा प्रभावकारी नभएको भन्दै बाजुराका सञ्चारकर्मीले नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएका छन् । टेलिकमले राम्रो सेवा प्रवाह गर्नु पर्ने माग राख्दै सञ्चारकर्मीले नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालय बाजुरामार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बुधबार नेपाल टेलिकम जिल्ला शाखामा प्रमुख पदमराज पडाल र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई जिल्लाका रेडियो, अनलाइन र राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिले ज्ञापन पत्र बुझाएका हुन् ।

टेलिकमले सञ्चार माध्यम र अन्य सेवाग्राहीलाई एडिएसएल सेवा विस्तार गर्दै सुविधा दिएको भए पनि इन्टरनेटको गति तीव्र नहुँदा सञ्चार माध्यमले नियमित समाचार सम्प्रेषणमा समस्या भोग्न थालेपछि टेलिकम प्रमुख पडाल र प्रशासनमार्फत सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएको सञ्चारकर्मीले बताएका छन् ।

जिल्लामा नेपाल टेलिकममार्फत सञ्चालित एडिएसल र फोर जी सेवाको इन्टरनेट सञ्चालन नहुँदा सञ्चारसँग जोडिएका सबै संस्थाले काम गर्न नपाएको र जिल्लामा भएका घटना तथा जनताका जनजीविकाका सवाललाई उठान गर्नका लागि इन्टरनेट सेवा द्रुत गतिमा नहुँदा सेवा प्रवाहमा थप समस्या देखिन थालेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

टेलिकमको इन्टरनेट सेवा निकै कमजोर देखिएकाले विभिन्न मिडियाका राउटरसमेत बुझाएको नेपाल प्रेस युनियन जिल्ला शाखा अध्यक्ष प्रेमबहादुर रौलेले बताए ।

रेडियो बाजुरा, रेडियो पौरखी, बडीमालिका खबर, नागरिक रैबार, नजिक न्युज, किनार न्युज, मालिका टुडे, लोकतन्त्र बिहानी, गगन वाणी डटकम, खप्तड मालिका न्युज, सिंजापती डटकम, गुड न्युजका प्रतिनिधिहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।