ताजा अपडेट »

बारसँग पाँच न्यायाधीशले भने- हामी तपाईंहरूसँगै छौँ

बुधबार, ०१ मंसिर २०७८, १८ : ०५
4 Shares

काठमाडौं । इजलासमा फर्किएका सर्वाेच्च अदालतका पाँच न्यायाधीशले नेपाल बार एसोसिएसनको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका छन् । नेपाल बार र सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा पाँच न्यायाधीशले बारको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका हुन् । 

न्यायाधीशको भनाइ उद्धृत गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘‘हामीहरू तपाईंभन्दा बाहिर छैनौं । आन्दोलनका कारण सेवाग्राहीले दुःख पाए । सेवाग्राहीबाट प्रश्न नउठोस् भनेर बन्दीप्रत्यक्षीकरणसहित सामान्य मुद्दा हेरेका हौँ र आफूहरू बाँकी न्यायाधीश (आन्दोलित न्यायाधीश)सँगै बारको बटमलाइनको साथमा छौँ ।’ 

छलफलका बेला बार पदाधिकारीले अदालतमा विकृति विसंगति बढेको भन्दै आन्दोलनमा असर पर्ने गरी मुद्दा नहेर्न र साथ दिन न्यायाधीशहरूसँग अनुरोध गरेका थिए । पाँच जना न्यायाधीश भेट्न बार अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष ईश्वरी खतिवडा, रक्षा बस्याल, सर्वाेच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे गएका थिए । 

सर्वाेच्चका पाँच न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोज शर्मा र बमकुमार श्रेष्ठ सोमबार र मंगलबारको बार पदाधिकारीको छलफलमा अनुपस्थित थिए । 

सेवाग्राही मारमा परेको र तत्काल निकास ननिस्कने भन्दै उनीहरूले मंगलबारदेखि इजलासमा फर्केर मुद्दा हेर्न सुरू गरेका छन् । अन्य १३ न्यायाधीश पनि सेवाग्राहीलाई कम क्षति हुनेगरी गोलाप्रथाबाट मुद्दा हेर्ने र प्रधानन्यायाधीश बहिर्गमनको आन्दोलनमा समर्थन दिइरहने पक्षमा छन् ।

कार्यपालिकासँगका राजनीतिक भागबण्डा खोजेको आरोपसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार आन्दोलनमा उत्रिएको छ भने सर्वाेच्चकै न्यायाधीशहरू इजलास बहिस्कार गरेर बसेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।