ताजा अपडेट »

रुपन्देहीबाट एक महिनामा १७ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

बुधबार, ०१ मंसिर २०७८, १७ : ३८
4 Shares

बुटवल । रुपन्देही प्रहरीले सञ्चारलन गरेको सर्च अप्रेशनका क्रममा कात्तिक महिनाभर १७ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी युनिटमार्फत ती अभियुक्तहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा १५ जना पुरुष र दुई जना महिला छन् ।

लागुऔषध नियन्त्रणका लागि रुपन्देही प्रहरीले  सञ्चालन गरेकाे विशेष अभियान जारी छ । पक्राउ परेका अभियुक्तहरूबाट प्रहरीले ४७ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, एक सय पाँच ट्याब्लेट नाइट्राजेपाम, ड्राइजेपाम २३, फेनारगन २३, नुफिन १३, टालजेसिक २३ ट्याब्लेट बरामद गरेको छ । त्यस्तै, प्रहरीले एउटा मोटरसाइकल र तीन थान मोबाइल समेत बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देही र प्रहरी चौकी गुलरिया रुपन्देहीबाट खटिएको टोलीले रुपन्देहीको मर्चवारी गाउँपालिका-२ मा लु७८प ५६८५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्ने क्रममा सम्मरीमाई गाउँपालिका-२ मुडिला बस्ने निरज यादवलाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले लागुऔषध स्पास्मो २२ क्याप्सुल बरामद गरेको छ भने मोटरसाइकल पछाडि सवार मर्चवारी गाउँपालिका- ५ बस्ने राहुल पाण्डेको साथबाट एक सय पाँच ट्याब्लेट नाइट्राजेपाम फेला पारेको छ । दुवै अभियुक्तलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीबाट खटिएको टोलीले जिल्लाको कन्चन गाउँपालिका- ४ बस्ने मोहन सुनार र प्रदिप पुनलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको छ । उनीहरूको सूचनाको आधारमा नरेन्द्र दर्जी पनि पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट नाै सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको टोलीले कञ्चन गाउँपालिका- १ सानो उकाली बस्ने सीमाकुमारी श्रीसलाई पनि लागुऔषधसहित पक्रेको छ । उनको साथबाट तीन ग्राम नी सय मिलिग्राम खैरे हेरोइन बरामद गरेकाे छ । लागुऔषध ब्यूरो शाखा कार्यालय भैरहवाले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ मा भरतपुर महानगरपालिका – १६ बस्ने दिपेन्द्र सुनार र गैंडाकोट नगरपालिका–१ नवलपरासी बस्ने नकुल बिकलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले डाइजेपाम २३, फेनारगन २३, नुफिन १३, टालजेसिक २३ ट्याब्लेट फेला पारी कारवाही थालेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका- ११ पवित्रनगरमा चेकजाँच गर्ने क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ शिवनगर बस्ने शंकर नेपाली, वडा नम्बर ३ बस्ने केशव गिरी र बुटवल–११ बस्ने दिपक नेपालीसहित तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले ११ ग्राम ब्राउन सुगर बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल–१७ रानीगन्जबाट सोही ठाउँ बस्ने रवि लामालाई पाँच सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । त्यस्तै, बुटवल–२ पाखापानी बस्ने राजु थापा क्षेत्री, बुटवल–११ देवीनगर बस्ने सूर्यप्रसाद ज्ञवालीलाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट एक सय दुई मिलिग्राम ब्राउनसुगर र दुई थान मोबाईल बरामद गरेकाे छ ।  इलाका प्रहरी कार्यालय बुटवलकै टोलीले बुटवल–१४ पदमपुर बस्ने निर्मल भारती, नवलपरासीको प्रतापपुर गाउँपालिका–५ बस्ने मोहम्मद अफ्रोज मिया र बुटवल उपमहानगरपालिका- १ बस्ने सम्झना हलुवाईलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २८ ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।