ताजा अपडेट »

इरानको कब्जाबाट छुटिन् रसियन पत्रकार युलिया

शुक्रबार, २४ असोज २०७६, १५ : ५८
6 Shares

इरानद्वारा पक्राउ गरिएकी रसियन पत्रकार मुक्त भएकी छिन् । इजरायली गुप्तचर निकायसँग सम्पर्क भएको आरोपमा ३८ वर्षीया युलिया युजिक तेहरानमा गत हप्ता पक्राउ परेकी थिइन् । युलियालाई प्रवेशआज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको इरानी सरकारले जनाएको थियो । तर रसियाली दूतावासले भने उनलाई इजरायली सुरक्षा सेवामा काम गरेको जनाएको छ ।

रसियाली विदेश मन्त्रालय र तेहरानमा रहेको रूसी दूतावासको संयुक्त प्रयासमा इरानले रुसी पत्रकार युलियालाई रिहा गर्ने निर्णय गरेको दूतावासले ट्वीटरमार्फत जानकारी दिएको एएफपीले जनाएको छ । युलिया मस्को फिर्ता हुने उडानबाट रुसी राजधानीमा अवतरण गरेकोे युलियाका पूर्वपतिको रूपमा चिनिने पत्रकार बोरिस भोइटसेखोभस्कीले आफ्नो फेसबुकमार्फत बताएका छन् । गिरफ्तारीको अवस्था स्पष्ट गर्न रुसले गत हप्ता इरानी राजदूतलाई बोलाएको थियो ।

युलिया न्युजवीकको रुसी संस्करणसहित धेरै प्रकाशनका लागि काम गरिसकेकी पत्रकार हुन् । उनले २००४ मा स्कूलमा भएको नरसंहारबाट बचेका साक्षीहरूको गवाहीको आधारमा ‘बेस्लान शब्दकोश’ सहित दुई पुस्तकहरू लेखेकी छिन् । उक्त नरसंहारमा कम्तीमा ३ सय ३० व्यक्तिको ज्यान गएको थियो, जसमध्ये आधा भन्दा बढी बालबालिका रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।