ताजा अपडेट »

चीनका राष्ट्रपतिको राजकीय भ्रमण शनिबारदेखि

शुक्रबार, २४ असोज २०७६, १० : ०७
6 Shares

असोज २४,

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक राजकीय भ्रमणमा शनिबार नेपाल आउन लाग्नुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको उच्चस्तरीय भ्रमणलाई सफल बनाउन विशेष तयारी गरिएको छ ।विश्वका उच्च प्रभावशाली नेताहरूको सूचीमा परिचित राष्ट्रपति सीको भ्रमणलाई नेपाल सरकारले विशेष महìवका साथ तयारी गरेको छ । राष्ट्रपति सी यही असोज २५ र २६ गते दुई दिनको नेपाल भ्रमणमा आउनुहुने भएको हो । राष्ट्रपति सीको दुईदिने नेपाल भ्रमणको औपचारिक मिति सार्वजनिक गर्दै नेपाल सरकारका विभिन्न निकायले तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।राष्ट्रपति भण्डारीका निजी प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “चीनका महामहिम राष्ट्रपति सीको राजकीय भ्रमणका क्रममा नेपालका राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सीबीच हुने विशेष भेटवार्तालाई सफल बनाउन राष्ट्रपति कार्यालय जुटेको छ । झन्डै २३ वर्षपछि चीनका राष्ट्राध्यक्षको नेपाल भ्रमण हुन लागेकाले यसलाई उत्सुकतापूर्वक हेरिएको छ ।”


राष्ट्रपति भवन शीतल निवासमा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय भेटवार्ता हुने तय भइसकेको छ । भ्रमणलाई ध्यानमा राखेर राष्ट्रपति कार्यालयको रङरोगन गर्नुका साथै भवन परिसर पनि अझ सुन्दर बनाइएको छ । गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणका क्रममा नेपाल भ्रमणका लागि चीनका राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिनुभएको थियो ।
भ्रमणको निम्तो सहर्ष स्वीकार गर्दै राष्ट्रपति सी नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल भ्रमणमा रहनुहुँदा सीले नेपालका समकक्षी राष्ट्रपति भण्डारीसँग विशेष भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ प्रतिधिनिधि मण्डलको स्वागतमा विशेष समारोहसहित रात्रिभोज आयोजना गर्नुहुनेछ ।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो भेटावार्तालगत्तै उहाँहरूको समुपस्थितिमा नेपाल र चीनबीच विभिन्न द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।राष्ट्रपति सीसँग नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शिष्टाचार भेट गर्नुहुने छ ।

मित्रता कसिलो बनाउने योजना
भ्रमणकै विषयमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपतिको भ्रमणलाई कुनै लाभ–हानिसँग नजोडी उच्चस्तरको मित्रताको प्रतीकका रूपमा लिएको बताउनुभएको छ । गोरखापत्रसँगको विशेष कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले कुनै पनि देशका सरकार प्रमुख वा राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुँदा हामीले के के पाउने भनेर सूची बनाएर बस्नु नहुने स्पष्ट पार्नुभएको छ ।
उहाँले भन्नुभयो, “हामीले मित्रताको अपेक्षा गर्नुपर्छ, भौतिक अपेक्षा तपसिलका प्रतिफलका रूपमा आउने कुरा हो, मुख्य कुरा मित्रता अभिवृद्धिको कुरा हो, मित्रता अभिवृद्धि भयो भने अरू कुरा प्रतिफलका रूपमा हुँदै जान्छ ।”


उहाँका अनुसार नेपालको राष्ट्रिय हित, राष्ट्रिय चरित्र, नेपालकोे स्वाधीनता, तटस्थता, शान्तिको पक्षधरता र विश्वबन्धुत्वको आधारभूत नीतिहरू छन् । सार्वभौम समानताका नीतिहरू छन् । शान्तिका पक्षधरताका नीतिहरू छन् । न्यायपूर्ण व्यवस्थाका नीतिहरू छन् । संयुक्त राष्ट्रसङ्घका बडापत्रअनुसार चल्ने नेपालको प्रतिबद्धता छ र राष्ट्रपति सीको भ्रमणले यिनै विषयलाई अझ प्रवद्र्धन गर्नेछ ।प्रधानमन्त्रीले भन्नुभयो, “असंलग्न सिद्धान्तका आधारमा चल्ने प्रतिबद्धताअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध परिचालित गर्दा तीनवटा कुरामा ध्यान दिन्छौँ, एउटा राष्ट्रिय हित, अर्को न्यायोचित कुरा तथा तेस्रो अन्तर्राष्ट्रिय उत्तरादायीमा हामी ध्यान दिन्छौँ ।”दृढताका साथ अगाडि बढेकैले नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा परिभाषित गरेको प्रधानमन्त्रीको भनाइ छ । छिमेकी मुलुककै मित्रताको प्रतिफलका रूपमा नेपाल ‘वाटरलिङ्क’मा पुगेको छ । टेलिलिङ्कमा जाने बाटोमा अग्रसर रहेको छ ।

कार्यसूची बलियो आर्थिक साझेदारी
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा चीनबाट उच्च राजनीतिक भ्रमण होस् भनेर लामो समयदेखि चाहेको स्पष्ट पार्नुभएको छ । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उहाँले चीनका राष्ट्रपति सीको भ्रमणलाई उच्च महìव दिएको बताउनुभयो ।“यो समय नेपाल भ्रमणका लागि उत्कृष्ट समय हो,” उहाँले थप्नुभयो, “नेपालले जसरी आफ्नो सङ्क्रमणकाल अन्त्य गरेर स्थायित्व र विकासको बाटोमा अगाडि बढेको छ, अहिले नेपालको भ्रमण गर्ने उपयुक्त समय हो भनेर उहाँहरूले भन्नुभएको छ ।”चीनको उच्च राजनीतिक भ्रमणलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्ने नेपालको सोच रहेको उहाँ औँल्याउनुहुन्छ । त्यही ढङ्गको आर्थिक साझेदारीमा केन्द्रित हुँदै तयारी अगाडि बढेको मन्त्री ज्ञवालीको भनाइ छ । त्यो बलियो आर्थिक साझेदारीका निम्ति खास गरेर नेपाल र चीनलाई ‘ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’को माध्यमबाट अगाडि बढाइएको छ ।


मन्त्री ज्ञवालीले भ्रमणताका हुने उच्चस्तरीय वार्ताका कार्यसूचीका बारेमा भन्नुभयो, “स्वाभाविक रूपमा हाम्रो प्रयत्न प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र निर्माणको तहसम्मको एउटा फ्रेमवर्क बनाउने विषयमा हाम्रो कुराकानी हुनेछ, चीनसँग जोड्ने चारवटा उत्तर–दक्षिण राजमार्गहरूको निर्माणलाई एउटा ठोस सम्झौतामा पु¥याउने हाम्रो प्रयत्न हुनेछ ।”चीनको नेसनल रेलवे अथोरिटीले केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मङ्सिरमा बुझाएको थियो । त्यसपछि नेपाल र चीनका पदाधिकारीबीच सो विषयमा छलफल भएको थियो ।

केरुङ–काठमाडौँ रेलमार्गको दूरी झन्डै ८० किलोमिटर हुनेछ । आठ वर्षको अवधिमा निर्माण गरिने सो रेलमार्गका लागि तीन खर्ब रुपियाँभन्दा बढी लगानी लाग्ने अनुमान छ । काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीलेसम्भाव्यता अध्ययन गरेको थियो । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ ।त्यस्तै पुरानालगायत नयाँ नाकाहरू छन् र तिनलाई अन्तर्राष्ट्रिय नाकाहरू ट्रान्जिट ट्रान्सपोर्ट प्रोटोकलले पहिचान गरेका छन्, तिनीहरूको स्तरोन्नतिका बारेमा पनि सी भ्रमणसँगै हुने वार्तामा कुराकानी हुने बताइएको छ । “विश्वस्तरका नयाँ विश्वविद्यालय खोल्ने र त्यसबाट नेपाललाई आवश्यक पर्ने जनशक्ति यहीँबाट तयार हुनेछ,” उहाँले थप प्रस्ट्याउँदै थप्नुभयो, “विशेषगरी विज्ञान र प्रविधिमा केन्द्रित भएर त्यो ढङ्गको विश्वविद्यालयका विषयमा पनि कुराकानी हुनेछ ।” सारमा हामी एउटा बलियो आर्थिक साझेदारीमा सम्बन्धलाई बदल्न चाहन्छाँै भन्नेमै भ्रमण केन्द्रित हुने उहाँले जानकारी दिनुभयो ।


आर्थिक साझेदारीका क्रममा अर्थ मन्त्रालयसँग जोडिएर योजनाका विविध सम्झौताको ढाँचा तयार पार्ने कार्यसमेत तीव्रताका साथ अगाडि बढिरहेको जनाइएको छ । राष्ट्रपति सीको भ्रमणका लागि नेपालको तयारी अन्तिम चरणमा चलिरहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “दुई देशबीच हुने सहमतिपत्र र अन्य कार्यसूचीका विषयमा भने अन्तिम बुँदाहरूको छलफल भइरहेको छ, सुरक्षासम्बन्धी तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ ।” उहाँका अनुसार औपचारिक रूपमा हुने सबै तयारी उच्च गतिमा अगाडि बढिरहेको छ । “यस भ्रमणलाई नेपाल सरकारले उच्च प्राथमिकताका साथ लिएको छ,” उहाँले प्रस्ट्याउनुभयो, “भ्रमण सफल बनाउनका लागि सबै तह र तप्का अन्तिम तयारीमा जुटेको छ ।”
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले औपचारिक तयारीको काम उच्च गतिमा अगाडि बढिरहेको जानकारी दिनुभयो । सरकारको तयारी पनि उच्च महìवका साथ अघि बढिरहेको छ, नेपालको कार्यसूचीका विषयमा विभिन्न निकायले समन्वय गरी अन्तिम टुङ्गोमा पु¥याउने काम चलिरहेको छ ।


मन्त्रालयको शिष्टाचार महाशाखा, व्यवस्थापन शाखा लगायतका कर्मचारी रातदिन नभनी चीनका राष्ट्रपति सीको भ्रमणको तयारीमा खटिएको पौडेलले जानकारी दिनुभयो । त्यसैगरी उच्चस्तरीय सुरक्षाको जिम्मा लिएको गृह मन्त्रालयले सुरक्षात्मक विषयमा पूर्वतयारीसमेत पूरा गरिसकेको छ ।
त्रिभुवन विमानस्थलदेखि राष्ट्रपति कार्यालय र भेटवार्तास्थलसम्मको उच्च सुरक्षाका लागि गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित तीनै तहको सुरक्षा व्यवस्था चुस्त बनाएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । - चाँदनी हमाल /गोरखापत्र  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।