ताजा अपडेट »

बुटवलमा करोड लगानीमा खस्यौली रोदी क्लब, चर्चित कलाकारको प्रस्तुति

सोमबार, २९ कार्तिक २०७८, १५ : ३१
32 Shares

बुटवल । होटल, रेष्टूरेण्ट तथा क्याफे हब बन्दै गरेको बुटवलको कालिकानगर क्षेत्रमा दोहोरी क्लब पनि थपिएको छ । बुटवल–११ कालिकानगरको भित्री सडकमा खस्यौली रोदी क्लब सञ्चालनमा आएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष दिपक गरौजा र खिमान्द सापकोटाले करिब एक करोडमा स्थापना गरेको क्लबको शुक्रबार चर्चित लोक–दोहोरी गायक बद्री पंगेनीले उद्घाटन गरेका हुन् ।

पहिल्यैदेखि चलेका दोहोरी घरहरु कोरोना महामारीको पहिलो र दोस्रो लहरका कारण करिब २ वर्षदेखि रोधीघर पूर्णतया ठप्प रहे । महामारी केही मथ्थर भएसँगै खुल्न लागेका ती रोदीघरसँगै नयाँ रोदी घर पनि थपिएको छ। लामो समयसम्म बन्द भएका रोदी घर सञ्चालनमा आएतापनि पुरानै लयमा भने फर्किएका छैनन् । यही अवस्थामा चूनौतीका बाबजुद नयाँ रोदी क्लब सञ्चालनमा आएको हो ।

लामो समयसम्म कारोना महामारीका कारण सबै क्षेत्रमा मन्दी आए जस्तै लोक संगीतमा पनि मन्दी आएका कारण यसलाई पुरानै अवस्थामा फर्काउनका लागि रोदी क्लब सञ्चालनमा ल्याएको सञ्चालक दिपक गरौँजाले बताए । व्यवसायिक सफलताका लागि मात्रै नभएर नेपाली लोक संस्कृतिको जोगाउन, कलाकारिता क्षेत्रको विकासका लागि र कलाकारहरुलाई व्यवसायिक बनाउन र संस्कृतिको संरक्षण गर्नका लागि रोदी क्लबको स्थापना गर्ने सोच आएको सञ्चालक गरौँजा बताउँछन् ।

‘कोरोना महामारीका कारण सबै क्षेत्रका मन्दी नै आयो ।’ ग्लोलब आवाजसँगको कुराकानीमा गरौजाले भने‘कोरोनाको कारण ठप्प रहेको गित संगीतलाई चलायमान गराउन र नेपाली लोक संस्कृति जोगाउन, कलाकारिता क्षेत्रको विकासका लागि र कलाकारहरुलाई व्यवसायीक बनाउन रोदी क्लब खोलेका हौँ ।’

सुरुवातको दुई दिनमा दर्शकहरुको राम्रो साथ र सहयोग पाएको उनले बताए । ‘खस्यौली रोदी क्लबको उद्घाटन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीतका पूर्व केन्द्रिय अध्यक्ष बद्रि पंगेनीले क्लबको संरचना बारे प्रशंसा गरेका थिए । उनले वर्तमान अवस्थामा ठूलो लगानीबाट बुटवलमा आधुनिक तथा व्यवस्थित रोदी क्लब सुरुवात भएको बताउँदै सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले भने ‘१५० जनासम्म रोदी क्लबमा अट्ने क्षमता छ । सुरुमै धरै दर्शक ठाउँ नपाएर फकर्नु नै पर्याे। सधैँ दर्शक र स्रोतका साथ र सहयोग यस्तै नै पाउने उनको विश्वास रहेको छ ।’

पहिलो र दोस्रो दिनमै दर्शकको उल्लेख्य सहभागिताले आफूहरुलाई प्रोत्साहन गरेको सञ्चालक गरौजाले बताए । उनले भने ‘पहिलो र दोस्रो दिन दर्शकको राम्रो नै सहभागिता रहेको छ । अगामी दिनमा पनि यसैगरि सहयोग रहने छ ।’ रोदी क्लबमा स्थानीय र राष्ट्रिय गरी २० जना कलाकारहरुले नियमित रुपमा प्रस्तुति दिने गरौजाँले बताए । ‘१८ देखि २० जना कलाकारहरुले नियमित रुपमा आफ्नो प्रस्तुति गर्नु हुने छ । कलाकार र अन्य कामदार गरी करिब ४० जना स्टाफ हुनु हुन्छ ।’ उनले भने ।

रोदी क्लबले कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मलाई शुभारम्भको अवसर मान्दै सो अवसरमा देशकै चर्चित कलाकारहरुको प्रस्तुति राखेको छ । जस अन्तर्गत बद्री पंगेनी र पशुपति शर्माले जनाई प्रस्तुति दिइसेका छन् । त्यसैगरी सम्झना लामिछाने, प्रिति आले, खुमन अधिकारी, रुपा जिएम लगाएत चर्चित तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहनेछ।

सिद्धार्थ राजमार्गपछि सहायक मार्ग मानिने तिलोत्तमा योगीकुटी–बुटवल बसपार्क सडकमार्गका कालिकानगर क्षेत्रमा दर्जनौं होटल, रेष्टूरेण्ट तथा क्याफेहरु सञ्चालित छन् । थपिने क्रम पनि उतिनै छन् । हालै सो स्थानमा एलओडी नाइट क्लब पनि सञ्चालनमा आएको छ । यससँगै सो क्षेत्रमा सन्ध्या तथा रात्रीकालिन चहल–पहल बढेको छ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।