ताजा अपडेट »

राष्ट्रिय जनगणना-२०७८: विश्वसनीय तथ्यांकसहित सफल पारौं

शुक्रबार, २६ कार्तिक २०७८, १४ : ५७
69 Shares

नेपालमा संघीयता कार्यान्वयनमा आएपछिको पहिलो राष्ट्रिय जनगणना हुँदैछ । बिहीवारदेखि प्रत्येक १२औं राष्ट्रिय जनगणना सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’नाराका साथ देशभर राष्ट्रिय जनगणना सुरु भएको हो। शुक्रबार शित्तल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारीको गणनाबाट जनगणनाको औपचारिक सुरुवात भएको छ । जनगणनाका लागि देशैभर ७५३ वटा स्थानीय तहका छ हजार ७४२ वटै वडामा गरी ३९ हजार जना गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्य क्षेत्रमा खटिएका छन् । पाँच जना गणकलाई एक जना सुपरिवेक्षकले यस अगाडि गरिएको घर तथा घरपरिवारको सूचीकरणको फारम र नक्सा प्रदान गरेर अनुगमन, समन्वय र सहजीकरण गरिरहेका छन् ।

राष्ट्रिय जनगणनाको पहिलो दिनमै १५ लाखको गणना भइसकेको छ । यस अगाडि नै भदौंमा पहिलो चरणको गणना भइसकेको छ । जसमा ७ प्रश्न लिएर ८ हजार ५ सय सुपरिवेक्षक ७० लाख घरपरिवारका घरमा पुगिसकेका छन् । जन गणक तथा सुपरिवेक्षकहरुले जनताको घर–दैलोमा पुगेर ८० वटा प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिनुपर्ने छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने समेत व्यवस्था रहेको छ । यस पटक कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसंख्या गणना गर्ने तयारी पनि छ । गणनाको नतिजा तीन महिनामा तयार हुने छ । यसपालीको जनगणनामा देशको जनसंख्या तीन करोड बढी हुने अनुमान छ ।

नेपालमा राष्ट्रिय योजना आयोग अन्तर्गत रहेको केन्द्रीय तथ्यांक विभाग जनगणना संचालन र ब्यबस्थापन सम्बन्धी सम्पूर्ण क्रियाकलापको योजना तर्जुमा तथा कार्यान्वयन लगायत तथ्यांकको संकलन, प्रशोधन, सम्पादन, तालिकीकरण र नतिजा प्रकासनका लागि उत्तरदायी छ।नेपालको पहिलो जनगणना विक्रम संवत १९६८ मा गरिएको थियो। यद्यपि नेपालको पहिलो आधुनिक जनगणना विक्रम संवत २००९/११ मा सम्पन्न भएको थियो जसमा करिब ८० लाख जनसंख्याको गणना गरिएको थियो।

पछिल्लो वि.सं. २०६८ मा सम्पन्न गरिएको जनगणनामा करिब २ करोड ७० लाख व्यक्तिहरुको गणना गरिएको थियो। सामान्यतया यसलाई जनगणना भनेपनि यो केवल जनताको गणना मात्रै होइन, जनताको समग्र संख्यासँगै सम्पूर्ण अवस्थाको अभिलेख पनि हो । राष्ट्रिय जनगणना नेपालको एकीकृत राष्ट्रिय तथ्यांक प्रणालीको एक हिस्सा हो। यसले हरेक दश वर्षको अन्तरालमा राष्ट्रिय र स्थानीय स्तरमा आधारभुत जनसंख्या तथ्यांक तयार गर्दछ। यसले राष्ट्रिय आवधिक विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका अनुगमन र मूल्यांकनसँग सम्बन्धित केहि सामाजिक, जनसांख्यिक र आर्थिक सूचकहरुको लागि समेत सूचना प्रदान गर्दछ।

१० वर्षपछि पुनःजनगणना हुँदैछ । जनगणनाले जनताको समग्र अवस्थाको तथ्यांक संकलन गर्दछ । संकलित तथ्याङ्कले हरेक क्षेत्रमा सबैभन्दा ठूलो अर्थ राख्छ । तथ्याङ्ककै आधारमा योजना निर्माण हुन्छन् । बजेट विनियोजन हुन्छ । तथ्याङ्ककै आधारमा समाजको आगामी दिशा निर्धारण हुन्छ । देश र जनताको समृद्धिको खाका तथ्याङ्ककै आधारमा तय हुन्छन्। अरू त अरू, तथ्याङ्ककै आधारमा कुनै देशलाई कस्तो दृष्टिले हेर्ने, कस्तो बनाउने, कस्तो सहयोग वा असहयोग गर्ने भन्ने अन्तर्राष्ट्रिय मान्यता बन्दछ ।

देशकै अवस्थालाई चित्रण गर्ने तथ्यांक पूर्ण समावेशी र भरपर्दो हुनु पर्दछ । यसका लागि सरकार,निकाय,सुपरिवेक्षक, गणक, जनता सबै प्रतक्ष्य सरिक भई सत्य तथा पूर्ण विवरण संकलन गर्नु पर्दछ । मुलुकका सबै जनता, जातजाती, भाषा, वर्ग, अवस्था, धर्म–संस्कृति लगाएतका आधार तथा विशेषताहरुलाई सही रुपमा समेट्नु पर्दछ । त्यसैगरी भौगोलिक तथा आर्थिक अवस्था, रोजगार तथा बेरोजगार, शिक्षित–साक्षर, अशिक्षित–निरक्षर जस्ता महत्वपूर्ण सूचकहरुलाई पनि सही ढङ्गबाट समावेश गर्न आवश्यक छ । तथ्यांकले बढ्दो जनसंख्या, शहरीकरण, बेरोजगारी लगाएतका गम्भीर विषयमा योजना बनाउन र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

हरेक नागरिकको अवस्थाको पूर्ण विवरणसहित मुलुककै अवस्था चित्रण गर्ने तथ्यांक संकलन कार्य जारी छ । सही तथ्याङ्क सङ्कलन र प्रशोधन गर्ने र त्यही तथ्याङ्कका आधारमा जनता, समाज र देशको अबको यात्रा तय गर्ने हाम्रासामु सबैभन्दा ठूलो दायित्व छ । यस पटक विगतका कमीकमजोरी सुधारेर जनगणनामा सरकार र समाजका सबै तहका नागरिकको सहभागिता र सक्रियता हुनुपर्छ । यसैले मात्रै जनगणनाको उद्देश्य पूरा हुनेछ । विश्वसनीय तथ्याङ्कका निम्ति सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारपूर्वक भूमिका निर्वाह गरौं। राष्ट्रिय जनगणना –२०७८ सफल पारौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।