ताजा अपडेट »

लुम्बिनी र कर्णालीमा सवारी दुर्घटना : ६ दिनमा ३० जनाको मुत्यु

बुधबार, २४ कार्तिक २०७८, १९ : ३९
4 Shares

दाङ । लुम्बिनी र कर्णाली प्रदेशमा तिहारलगत्तै ठूला दुर्घटना भए । यी दुई प्रदेशमा ७० वटा दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ । कर्णाली प्रदेशमा २२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा आठ जनाको मुत्यु भएको छ ।

१५ देखि २१ कात्तिकसम्म भएका सवारी दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएका हुन् ।

लुम्बिनी प्रदेशको तुलनामा कर्णाली प्रदेशमा सवारी दुर्घटना कम भए पनि मानवीय क्षति बढी भएको छ । कर्णाली प्रदेशमा तिहारको अवधिमा २६ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशको सबैभन्दा बढी सल्यानमा मानवीय क्षति भएको छ ।

सल्यानमा तिहारको समयमा १३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । एक साताको अवधिमा सल्यानमा तीन वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । सल्यानमा दुर्घटना हुने सवारीको संख्या कम भए पनि मानवीय क्षति बढी भएको हो ।

तिहारको समयमा कर्णाली प्रदेशको सल्यानपछि जाजरकोटमा सवारी दुर्घटनामा बढी मानवीय क्षति भएको छ ।
जाजरकोटमा एक साताको अवधिमा दुईवटा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, सुर्खेतमा १६ वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । एक साताको अवधिमा सुर्खेतमा साना-ठूला १६ वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सुर्खेतमा तिहारको अवधिमा सवारी दुर्घटनामा ३६ जना घाइते भएका छन् ।

यस्तै, सल्यानमा २९, जाजरकोटमा नौ जना घाइते भएका छन् । मुगुमा तीनवटा सवारी दुर्घटनामा पाँच, दैलेख र रुकुम पश्चिममा एक-एकवटा सवारी दुर्घटनामा एक-एक जना घाइते भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशका अर्घाखाँची र पाल्पाबाहेक सबै जिल्लामा सवारी दुर्घटना भएका छन् । प्रदेशको राजधानी दाङसहित बाँके, बर्दिया, गुल्मी, रोल्पा, पश्चिम नवलपरासी, प्युठान, पूर्वी रुकुम, कपिलवस्तु र रूपन्देहीमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशका रूपन्देही र दाङमा मानवीय क्षति बढी भएको छ । रूपन्देहीमा तिहारको अवधिमा पाँचवटा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दाङमा पाँचवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

यस्तै, बर्दियामा पनि पाँचवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुमा पाँचवटा सवारी दुर्घटनामा एक, नवलपरासी पश्चिममा नौवटा सवारी दुर्घटनामा एक, कपिलवस्तुमा पाँचवटा सवारी दुर्घटनामा एक र गुल्मीमा चारवटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा सात दिनको अवधिमा ४४ वटा सवारी दुर्घटनामा परेका छन् । प्रदेशका दाङसहित १० वटा जिल्लामा भएका सवारी दुर्घटनामा ३७ जना गम्भीर घाइते भएका छन् भने २३ जना सामान्य घाइते छन् ।

साँघुरो सडक, सवारीको चाप, चालकको लापरबाही, पुराना सवारी साधनलगायतका कारण सवारी दुर्घटना बढी भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रसिंह थापाले बताए । ‘चाडपर्वको समयमा यात्रुको चाप बढी हुने र तीब्र गतिमा सवारी चलाउँदा बढी दुर्घटना हुने गरेका छन्’, उनले भने, ‘सडक र सवारी साधनको कारण यात्रा बढी असुरक्षित हुने गरेको छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।