ताजा अपडेट »

पहाड खोला पीडितकाे माग : मन्त्री ज्यू, डुबानबाट बचाइदिनुहाेस्

बुधबार, २४ कार्तिक २०७८, १८ : १८
4 Shares

तनहुँ । शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरकाे पहाड खोला (खोल्सी)मा अहिले मुस्किलले पानी देखिन्छ । यसपालि कात्तिकको सुरुवातमा बेमौसमी बर्षा भएकाले धेरथोर पानी बगरिहेको देखिन्छ । नत्र यतिबेला खोल्सीमा पानी सुकेर कमिला हिँड्ने अवस्था हुन्थ्याे ।  

तर, यही सानो खोल्सीले बर्खामा स्थानीयको निद हराम गरिदिन्छ । माथिबाट उर्लदै आएको पानीको भेल बस्तीतर्फ सोझिन्छ । मालेबगरका घरगोठ डुबानमा पर्छन् । पानीको निकास नभएर सडक जलमग्न हुन्छ । यहीकारण आकाश गर्जिन थालेपछि बर्खाभर मालेबगरवासी त्रसित भएर बस्नुपर्ने बाध्यता छ ।

पहाड खोलाको पानी नियन्त्रणका लागि मालेबगरवासीले गण्डकी प्रदेश सरकारलाई गुहारेका छन् ।  प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई स्थानीयले पहाड खोलाको पानी निकास र डुबान नियन्त्रणको माग लिएर मन्त्रालय डेलिकेशन आउँछौँ भनेपछि मन्त्री बुधबार बिहान स्थलगत निरीक्षणमा आए । निरीक्षणमा आएका मन्त्रीसँग स्थानीयले पानीको निकास गर्न ढलको व्यवस्थापनसहित बर्खामा बस्ती डुब्नबाट जोगाईदिन अनुरोध गरे ।

नवप्रभात युव क्लबका अध्यक्ष समेत रेहका स्थानीय युवा विक्रम कार्कीले बर्षौदेखि डुबानको समस्या भोगिरहेको सुनाए । ‘मन्त्री ज्यु, डुबानको समस्या समाधान गर्न अनुरोध गर्दछु’, उनले भने । घडेरी किन्न आएकाहरू पानीको निकास नभएकाले डुबान पर्ने बस्ती भनेर फर्कने गरेको उनले बताए । खोलाले सडकलाई समेत बिगारेको उनको भनाइ छ । उनका अनुसार पहाड खोलाले बर्खामा यहाँका एक सयभन्दा बढी घरलाई असर पुर्याउँछ । खोला नियन्त्रण गरेर बस्तीतर्फ पस्न नदिनलाई स्थानीय सरकारसँग हारगुहार गरे पनि सुनवाई नभएको उनको भनाइ छ ।

अर्का स्थानीय प्रकाश अधिकारीले पनि डुबानबाट बस्तीलाई जोगाउन मन्त्री समक्ष अनुरोध गरे । उनले भने, ‘यो खोलाले बर्षौदेखि हामीलाई रुवाएको छ । जसरी हुन्छ डुबानबाट बस्तीलाई जोगाइ दिनुहोला ।’ उनका अनुसार बर्खामा कहिले पसलका सामान बगाइदिन्छ त कहिले भान्साको भाडावर्तन बगाउँछ । 

मालेबगरवासीको गुनासो सुनेपछि मन्त्री आचार्यले खोलाको तटबन्धन गरेर बस्ती जोगाउन यसै बर्षबाट काम सुरू गर्ने प्रतिबद्धता जनाए । ‘कसरी तटबन्धन गर्ने, खोला कताबाट लैजाने किटानी गर्नुस् । यसै बर्षबाट हामी काम सुरू गर्छौँ । एक बर्षमा सकिँदैन् । अलि बढी खर्चिलो पनि छ । खोलालाई पक्की नहरमा व्यवस्थापन गर्नुपर्नेछ । सिँचाई पनि गर्नुपर्ने भएकाले एकीकृत योजना बनाउनुपर्नेछ,’ उनले भने ।  आफुले बोलेको कुरा पूरा गरेर छाड्ने उनको दाबी छ ।  तुरुन्त प्राविधिक पठाएर काम सुरू गर्ने मन्त्री आचार्यले बताए । घर बस्ती जोगाउने काम पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । ‘तपाईँहरूको विवादले विकास पर नधकेलियोस्’, उनको सुझाव छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।