ताजा अपडेट »

राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने

बुधबार, २४ कार्तिक २०७८, १५ : ३९
6 Shares

काठमाडौं। ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ बिहीबारदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ४० हजार जना गणक खटाउने भएको छ । तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने जानकारी दिए।

त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको उनले बताए । ४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनुहुनेछ भने कुल ८० प्रश्न सोध्नु हुनेछ । एक जना गणकले एक परिवारमा औसत २५ देखि ३० मिनेट लगाउनु हुने प्रवक्ता चौलागाइँले बताए । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग हुने उनले बताए ।

‘‘७० को हाराहारीमा प्रश्नहरु छन् । सामुदायिक प्रश्न वडाले जवाफ दिने पनि छुट्टै छ । यस हिसाबले ७०–७२ वटा प्रश्न प्रत्यक्ष देखिएका छन् । यसलाई समग्रमा हेर्ने हो भने ८० वटा प्रश्नहरु हुनेछन्,’ उनले भने, “‘यो पटक लामो प्रश्नावली रहेको छ । यो विश्वकै लामो प्रश्नावली बुझिएको छ ।” ‘यो प्रश्न सक्न २५ देखि ३० मिनेटको समय छुट्याइएको उनले बताए । कुनै परिवारका सदस्य धेरै छन् भने समय बढी लाग्छ । परिवार सानो छ भने त्यहाँ थोरै समय लाग्छ” उहाँले भन्नुभयो, ‘त्यसैले एक परिवारका लागि एक जना गणकले २५ देखि ३० मिनेट सयम छुट्याउनुपर्ने छ ।’ जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य हुने पनि उनले बताए ।

यसैगरी कालापानी, लिपुलेक क्षेत्रमा जगनणना गर्न भने स्वीकृति लिनुपर्ने उनले बताए । ‘कालापानी, लिपुलेक क्षेत्रमा चार–पाँच वटा गाउँ छन् । केही गाउँमा तथ्याङ्क विभागका कर्मचारीले घर परिवार सूचीकरण गरि सकेका छन् । तर, केही ठाउँमा प्रशासनको स्वीकृति लिएर मात्रै जान मिल्ने अवस्था छ ।,’ उनले भने, ‘यसले गर्दा त्यस ठाउँमा स्वीकृतिको लागि बाँकी राखेका छौं । मिल्यो भने फेरि विभागका कर्मचारी जानुहुन्छ । जनगणना समन्वय समितिमा सिडिओ हुनुहुन्छ । उहाँहरुले पनि यसका लागि पहल गरिरहनुभएको छ । यो सरकारी स्तरबाटै पहल गर्नुपर्ने कुरा हो ।’

४० हजार जन गणकले १५ दिनमा संकलन गरिसक्नुपर्ने छ । १२ औं जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने भएको छ । ‘यो १२ औं जनगणना हो । यसका लागि हामीले यसभन्दा अगाडि घर परिवार सूचीकरण कार्यक्रम गरिसकेका छौं । मुख्य गणनाको कार्य बिहीबारदेखि शुरु हुँदैछ, १५ दिनको लागि’ उनले भने । निर्वाचन क्षेत्रको निर्धारण साथै वडागत तहको विवरणको लागि र विकास निर्माणको लागि पनि जनगणनाको तथ्याङ्क आवश्यक पर्ने उनले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।