ताजा अपडेट »

तिहार : गाउँमा पनि कृत्रिम मालाको वर्चस्व

शनिबार, २० कार्तिक २०७८, १९ : २७
16 Shares

सिमकोट । नेपालीहरूको महान् चाड तिहारमा हुम्ला सदरमुकाम सिमकोटमा कृत्रिम प्लास्टिक मालाको वर्चस्व देखिएको छ ।

तिहारका अवसरमा किनमेल गर्नेको भीडले बजार चहलपहल बढेको थियो । तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरिद गर्नका लागि जिल्ला बाहिरबाट सिमकोट आउँदा चहलपहल बढेको हो ।

तिहार केही ढिला भएका कारण मखमली र सयपत्री फूल पाइन छाडेपछि बजारमा प्लास्टिक तथा कृत्रिम फूलका मालाको माग बढेको सिमकोटमा स्थानीय प्रकाश रावतले बताए । जिल्लामा मखमली र सयपत्री फूलको उत्पादन कम हुने भएकाले प्लास्टिकका मालाले बजार भरिभराउ बनेका हुन् ।

तिहारलाई लक्षित गरी व्यापारीले नेपालगञ्ज, सुर्खेतबाट हवाईजहाजमार्फत प्लास्टिकका माला भित्र्याएका छन् । सिमकोट बजारका व्यवसायीले कृत्रिम मालाले पसल सजाएका छन् ।

जिल्लामा मखमली र सयपत्री फूल उत्पादन कम हुने गरेपछि यहाँका व्यापारीले प्लास्टिकका मालाप्रति ग्राहक आकर्षित बनाउने गरेका छन् । तिहारमा माला सबैभन्दा बढी बिक्री हुने भए पनि जिल्ला बाहिरबाट माला ल्याउने गरेको व्यापारीले बताउने गरेका छन् । प्रत्येक माला व्यापारीले न्यूनतम ५० देखि ३०० भन्दा माथिसम्म बिक्री गर्ने गरेको बताएका छन् ।-

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।