ताजा अपडेट »

शिक्षण पेसा छाडेर कृषि कर्ममा रमाएका दिव्यचन्द्र सोती

शनिबार, २० कार्तिक २०७८, १४ : ३३
4 Shares


लमजुुङ । १० वर्ष शिक्षण पेसा गरेका लमजुङको मध्यनेपाल नगरपालिका–७, लक्ष्मीबजारका दिव्यचन्द्र सोतीको हातमा डिग्री पास गरेको प्रमाणपत्र छ । उनले अँग्रेजी विषयमा स्नातकोत्तरसम्मको पढाइ पूरा गरेका छन् । १० वर्ष शिक्षण पेसा गरेको अनुभव छ, दिव्यसँग ।

उनी स्थानीय पश्चिम भूमी आवासीय माविमा पाँच वर्ष प्रिन्सिपलको रूपमा रही काम गरे भने जनमन्दिर माविमा पनि पाँच वर्ष पढाए । यतिबेला भने उनी शिक्षण पेसा छाडेर गाईभैंसीको गोठ स्याहार्दै छन् । उनी व्यावसायिक रूपमै गाईभैंसीपालनमा होमिएका छन् । 

‘देशमै बसेर आफ्नै केही उद्यम गर्नुपर्छ’ भन्ने सोचले आफू व्यावसायिक कृषि कर्ममा लागेको उनी बताउँछन् । उनले २०७२ सालबाट गाईभैंसीपालन व्यवसाय सुरु गरेका हुन् । उनी भन्छन्, ‘कृषिमा रम्न पाउँदा औधी खुसी छु ।’

दिव्यको फार्ममा अहिले १६ वटा उन्नत जातका गाई छन् । फर्ममा होलेस्टेन र जर्सी जातका गाई छन् । अहिले १२ वटा गाईले नियमित दूध दिन्छन् । फर्ममै मुर्रा जातका चारवटा दुहुनो भैंसी पनि छन् । फर्मबाट गाईभैंसीको गरी दैनिक एक लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध स्थानीय भोर्लेटार र रामबजारमै खपत हुन्छ । उनले गाईको दूध प्रतिलिटर एक सय रुपैयाँमा विक्री गर्ने बताए । 

भैंसीको दूध प्रतिलिटर १२० रुपैयाँमा बिक्री गर्छन् । कुनै बेला दूध बिक्री नहुँदाको समयमा उनले दूध संकलन गरी ‘क्रिम’ बनाउँछन् । ‘क्रिम’ प्रतिलिटर ११ सय रुपैयाँमा बिक्री हुन्छ । 

‘कुनैबेला दूध बिकेन भने क्रिम बनाउँछौँ । एक लिटर क्रिम बनाउन करिब १५ लिटर दूध आवश्यक पर्छ,’ उनले भने । दूध र तरकारी बिक्रीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुँदै आएको उनले बताए ।    

 व्यवसायमा ६० लाख लगानी

आफ्नो कृषि व्यवसायमा हालसम्म ६० लाखभन्दा बढी लगानी भइसकेको उनी बताउँछन् ।  ३० वर्षे दिव्यले उज्यालो मुहार बनाउँदै भने, ‘वार्षिक १५ लाख आम्दानी हुने तवरले कृषिमा लगानी गरी व्यवसाय व्यवस्थित रूपमा विस्तार गर्ने लक्ष्य लिएको छु ।’ 

वार्षिक २५ लाख कारोबार हुने र वार्षिक छ लाख बचत हुने गरेको छ । पढेलेखेको भर्खरको ठिटो देशमै बसी कृषिमा रमेको देख्दा स्थानीयले दिव्यको उद्यमको खुलेरै प्रशंसा गर्छन् ।

तरकारी खेतीसँगै माछापालन

दिव्यले तीन जनालाई पूर्ण रोजगारी र आंशिक तीन जनालाई रोजगार दिएका छन् भने उनी कामदारसँगै गाईभैंसीको स्याहारसुसारमा पनि जुट्छन् । गाईभैंसीपालनमा मात्र उनी सीमित छैनन् । 

उनले तरकारी खेती र माछापालनसमेत सुरु गरेका छन् । उनले ७० रोपनी जग्गा भाडामा लिई उक्त जग्गामा गाईभैंसीपालन, माछापालन र तरकारी खेती विस्तार गरेका छन् । 

उनले १० लाखको लगानीमा २०७५ बाट माछापालन व्यवसायसमेत सुरु गरेका छन् । पाँच रोपनी जग्गामा पाँचवटा माछा पोखरी बनाइएको छ । उनको माछापोखरीमा नैनी, रहु, कमनकार्प र ग्रासकार्प जातका माछा छन् । उनले उत्पादित माछा प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।