ताजा अपडेट »

पशुसँग सुँगुर जुधाउने खेललाई निरन्तरता

शनिबार, २० कार्तिक २०७८, ०९ : ४४
6 Shares

बारा । यमपञ्चक  अर्थात तिहारको चौथो दिन गाई, गोरु र भैसीलाई नुहाई धुवाईगरी डोरीसमेत नयाँ लगाएर मीठो खानेकुरा खुवाएर सुगुरसँग जुधाइएको छ । यसरी पशु र सुगुर जुद्धाउने खेललाई तराई मधेशमा डार खेल भन्निछ ।

गाई, गोरु र भैसीलाई शुक्रबार गोवर्धन पुजागरी पशुलाई सजाएर सुगुरसँग जुद्धाउने खेल खेलाइएको छ । बर्षमा एक पटक यसरी घरपालुवा गाई, गोरु र भैसीलाई सुगुरसँग आजको दिनमा जुधाउँदा पशुमा रोग नलाग्ने जनविश्वास रहेको महागढीमाई नगरपालिका १० गंजभवानीपुर टोलका किसान राजबंशीप्रसाद यादवले बताए।

हिन्दुहरुले गोवर्धन पुजाको सन्ध्यामा परापूर्वकालदेखि मनाउँदै आएको पशु सुँगुरको खेल हराउदै गएको छ । गाई, गोरु र भैसीको संख्या कम भएको तथा पशु पाल्ने रहर गाउँटोलमा कम भएकाले पशु र सुँगुर जुधाउने खेलप्रति आस्था थोरै ठाउँमा देखिएको भैसीपालक मिठु राउत अहिरले जानकारी दिए ।

पशु र सुगुरसहितको जुधाउने खेल मात्र नभई धान बालीमा कुनै रोग लागेपछि धान खेतमा हामीले सुँगुर पाल्ने डोमलाई केही रकम दिएर सँुगुर समेत घुमाएको उहाँले भन्नुभयो । अहिले प्राविधिक युगमा यो कुरा कसैले मान्दैनन् उनले बताए। यसरी धानखेतमा सुँगुर घुमाए पछि धानबालीमा लागेको रोग निको हुने अर्का किसान नागेन्द्र महतो कोईरीले जानकारी दिए ।

सुँगुर जुधाउन समुदायबाट चन्दा संकलन गरी नौ हजार रुपियाँमा सुँगुर खरिद गरी डार खेल सुचारु गराइएको महागढीमाई नगरपालिका निवासी कुईश राउत यादवले जानकारी दिए । वडा नम्बर–२, ३, ४, १० र ११ वडामा समेत पशु र सुँगुर जुधाउने खेल खेलाइएको वडा नम्बर–४ का अमिका ठाकुर शर्माले बताए ।-गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।