ताजा अपडेट »

तिहार पर्व : मौलिकता बचाऔं

शनिबार, २० कार्तिक २०७८, ०८ : २८
87 Shares

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको दिन । आजको दिनलाई भाई टिका पनि भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् । दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार उपहार दिने गर्छन् भने दिदीबहिनीले पनि मीठा परिकार खुवाउने गर्छन् । हिन्दु धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार । यो पर्व हरेक वर्ष कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ । तिहार ५ दिनसम्म मनाइन्छ । तसर्थ यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन पर्वत र भाई पूजा गरिन्छ ।

तिहार अथवा दीपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा लिइन्छ । यो पर्व हर्षोल्लास र उज्यालोका पर्व पनि हो । हिन्दुहरूको यो महान् चाड तिहारको आफ्नै व्यवहारिक, सांस्कृतिक, तथा मनोवैज्ञानिक महत्व छ । सूचना दिने काग,सुरक्षा गर्ने कुकुर , दूध दिने गाइेदेखि धनकी देवी लक्ष्मी र दिदी–भाई र दाजु–बहिीनबीचको सम्बन्धको महत्व कायम राख्न गरिने भाई पूजा व्यवहारिक र वैज्ञानिक छन्। परापूर्वकालदेखि मनाइँदै आएका यस धामिर्क पर्वका अनेकौं विशेषताहरु छन् । त्यसैले पनि यो निकै महत्वको पर्व हो । यस वर्षको यस पर्वको अन्तिम दिन आज भाई टिका अर्थात् दिदी–बहिनीले दाजु–भाईलाई टिका लगाउने दिन ।

तिहार अन्तर्गत भाईटिका लगाएर यस वर्षको तिहार समापन गरिँदैछ । धार्मिकसँगै पौराणिक,सामाजिक यो पर्व विशेषगरी मौलिक र सांस्कृतिक पर्व पनि हो । यस दीपावली पर्वका आफ्नै मौलिक तथा सांस्कृतिक विशेष्ताहरु छन् । कमेरो तथा गेरु (रातो रङको माटो)ले घर सजाउनु ,माटोको दियोमा बत्ति बाल्नु, मखमली तथा सयपत्री फूलका माला लगाउनु , लोकलयमा मादल बजाएर भट्टाएर देउसी–भैलो खेल्नु,पिङ खेल्नु , आदि । दिदी–बहिनीले दाजु भाइलाई टिका लगाएर आर्शिवदा दिनु,आफैं बनाएका परिकार खुवाउनु निकै व्यवहारिक र भावनात्मक क्रियाकलापहरु हुने गर्दछन् । त्यसैले पनि यस पर्वलाई तिहार,दीपावली,यमपञ्चक भन्दा बढी भाइटिका भन्ने गरिन्छ।

पौराणिक किंवदन्तीअनुसार कालको मुखमा पुगिसकेका भाईलाई दिदीको आशिर्वादले शत्रुलाई पराजित गरेको र सोही अनुसार भाईले दिदीको आशिर्वाद लिने महत्वको पर्व मानिन्छ, भाइटिका । त्यस्तै धनकी देवीलाई पूजा गरे,गरिबी हट्ने,समृद्धि आउने जनविश्वास छ ।त्यसैले यो पर्वको अर्को महत्वपूर्ण पक्ष लक्ष्मी पूजा पनि हो । पर्वहरु केवल अवसर होइनन् । ऐतिहासिक,धार्मिक,परम्परागत मान्यता र क्रियाकलापको निरन्तरता हुन् । तसर्थ ती मान्यता र मौलिकतालाई निरन्तरता दिनु नै पर्व मनाउनुको सार्थकता हुन्छ । तर,पछिल्ला वर्षहरुमा तिहारको मौलिकता र संस्कृतिमा फरकपन आएको छ । तिहार मनाउने शैली र सामग्री दुबैमा धेरै भिन्नता आएको छ । अझै भनौं विस्तारै तिहारको मौलिकता र संस्कृति मासिँदै छ।

दीपावलीका रुपमा मनाइने तिहारमा माटोका दियो करिब विस्थापित नै हुने अवस्था आएको छ । कृतिम तथा आयातित विद्युतीय बत्तीको प्रयोग बढ्दो छ । त्यसैगरी मादल बजाएर देउसी भैलो खेल्ने परम्परा तोडिँदै आधुनिक डेग बजाएर हिन्दी,अंग्रेजी गीतमा नृत्य गर्ने संस्कृतिको विकास हुँदैछ । परम्परागत दियोको प्रयोग नगर्दा दियो मात्रै होइन,वर्षौंदेखि पाला बनाउँदै आएका पेशाकर्मी,आधुनिक गीत र शैलीमा देउसी–भैलो खेल्दा लोक संस्कृति मात्रै होइन, मादल बनाउने वादीहरुको पनि पेशा संकटमा परेको छ। तिहारमा लगाइने मखमली र सयपत्री फूलको मालाको स्थानमा आयातित कृतिम मालाको प्रयोग बढेको छ । त्यसैगरी तयारी मिष्ठान्नको प्रयोगले घरमै बनाइने सेलरोटी,झिनिया,लगाएतका परम्परागत परिकारहरु लोप हुँदै जाने अवस्था आएको छ । पर्वको अर्को विशेषता पिङपनि करिब लोपनै हुने अवस्था छ ।

उल्लेखित मान्यता र विशेषताहरु समय सापेक्षअनुसार नहुन सक्छन् वा आधुनिक समयमा ती कुराहरुको अभाव खड्किन सक्छन् । यदि त्यसो भन्ने हो भने पर्वको अर्थ के ? परम्परागत,पौराणिक तथा धार्मिक पर्व आजका होइनन्,पहिलेकै हुन् । हरेक धर्म र पर्वका आफ्नै पहिचान र विशेषताहरु हुन्छन् । यदि ती पहिचान र विशेषतालाई विस्थापित गरिन्छ भने ती पर्वका महत्व र सार्थकता के ? पर्व,संस्कृति,मौलिकता पुर्खा र पुस्ताले हस्तान्तरण गर्दै जाने हो । पुर्खाले सुरु गरेका पुस्ताले हस्तान्तरण गरेका ती पर्व, संस्कृति र मौलिकता संरक्षण गर्दै हस्तान्तण गर्दै जानु प्रक्रिया हो ।

तर,पछिल्लो पुस्ता आफ्नो दायित्व र जिम्मेवारीबाट चुक्दै छ । यो पुस्ताले नयाँ पुस्तालाई पर्वका कुन संस्कृति र मौलिकता हस्तान्तरण गर्ने ? हाल विदेशिने नयाँ पुस्ताहरुको संख्या बढी छ । यस्तो अवस्थामा उनीहरुले आफ्नो धर्म,संस्कृति,परम्परा बुझ्न बढी आवश्यक छ । अर्कोतर्फ नयाँ पुस्ता फर्कँदा वा तीनका सन्ततीलाई कुन संस्कृति र मौलिकता दिने ? किनकी पुरानो संस्कृति र मौलिकताको संरक्षण नहुँदा उनीहरुले त्यो देख्ने, भोग्ने अवसरनै पाउँदैनन् । पर्वका नाममा एकातर्फ परिमार्जन हुँदै गएको छ भने अर्कोतर्फ विकृति पनि मौलाएको छ । तिहारलाई धन ,सम्पत्ति प्रदर्शन गर्ने, खर्च बढी गर्ने,जुवा तास खेल्ने, अहम्ता देखाउने अवसर तथा माध्यमका रुपमा पनि दुरुपयोग गरिएको छ ।

तिहारका नाममा देखिएका विकृति र आधुनिकताका नाममा धार्मिक,परम्परागत पर्वलाई आधुनिकता अनुसार मनाउनु दुबै अस्वभाविक तथा गलत हुन् । तसर्थ तिहारलाई तिहारकै मान्यता र संस्कृति अनुसार मनाऔं । पर्वको पहिचान र विशेषता नमेटाऔं । बद्लिदो परिवेशसँगै परिवर्तन हुनु र उपलब्ध स्रोत र साधनको प्रयोग गर्नु स्वभाविक हो । तर,परम्परागत मूल्य,मान्यता,सामग्रीको विनाश गरेर पराम्परागत पर्व मनाउनु कदापि स्वभाविक हुन सक्दैन । तसर्थ तिहारको मौलिकतालाई बचाऔं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।