ताजा अपडेट »

भरत ताल हेर्न आन्तरिक पर्यटकको घुइँचो

मंगलबार, १६ कार्तिक २०७८, १३ : ०६
4 Shares

सर्लाही । यहाँस्थित मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा निर्माण गरिएको १२१ विघा क्षेत्रफलका तालमा हालसम्म रु ६० करोड खर्च भइसकेको नगरपालिकाले जनाएको छ । चुरेकै काखमा रहेको उक्त तालमा ३५ सिट क्षमता भएको जेटबोट समेत सञ्चालन गरिएको छ । ताल पूर्णरुपमा निर्माण हुन अझै केही महिना लाग्ने भए पनि तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटरबोटले पर्यटकको मन लोभ्याउने गरेको छ ।

तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको नगरपालिकाले जनाएको छ । अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाँल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको वाग्मती नगरप उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिईन् । उनका अनुसार सो ताललाई प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा हेरिन थालिएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक दुई हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।

तालको नजिकै सुमेरी पर्वत बताउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पना गरिएको तालका कल्पनाकार तथा नगरप्रमुख भरत थापाले जानकारीर्दिए । उनका अनुसार तालको बीचमा रिसोर्ट निर्माणाधीन अवस्थामा छ भने तालको वरिपरि बगैँचा तथा घेराबेराको काम पनि भइरहेको छ । त्यसैगरी तालको वरिपरि खाजाघरहरु धमाधम निर्माण भइरहेका छन् । तालमा घुम्न आउने आन्तरिक पर्यटकले रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आफूलाई पोखराको फेवाताल घुमेको महसुस भएको ताल घुम्न आएका प्रकाश दाहालले बताए । रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न आनन्द भएको उनले सुनाए । “बोट चढ्न पोखरा नै जानुपर्छ जस्तो लाग्थ्यो, अहिले त यतै सरर । बिदाको दिन होस् या चाडबाडको समय भरत ताल व्यस्त नै देखिँदो रहेछ । उक्त तालको सौन्दर्य बढाउनका लागि हाँससमेत पालिएको रहेको छ । तालमा पौडिने हाँसको दृश्यले पर्यटकको मन झनै लोभिने गरेको पाइयो,” उनले भने ।

नगरप्रमुख थापाले अबको तीन चार महिनामा ताल निर्माणको काम सम्पन्न गरिने जानकारी दिए । तालले गर्दा पर्यटकको आगमन त छँदैछ पूर्णरुपमा ताल निर्माण भइनसक्दै धेरै जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीसमेत पाएका उनले बताए । मनोरञ्जनका लागि तालमा पाँच बोट राखिएको छ भने अझै पाँच बोट थप गरिने नगरप्रमुख थापाले जानकारी दिए । तालमा सजावट र रिसोर्टहरुको काम केही महिनामा सम्पन्न हुनेछन् । तालको सम्पूर्ण काम सकिएपछि उक्त तालमा पनि टिकट सिस्टम लागू गरिने नगरपालिकाले जनाएको छ । १२१ बिघामा निर्माण गरिएको उक्त तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ । जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध छ ।

साथै केही समयपछि उक्त तालमा माछापालन पनि गरिने योजना रहेको नगरपालिकाले जनाएको छ । तालमा सौन्दर्य र रिसोर्ट लगयतका काम सकिएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक हजार ५००स्थानीयवासीलाई रोजगारी पाउँने जनाइएको छ । नगरपालिकाले नगर बगैँचा र फनपार्कसमेत निर्माण गरिरहेको छ । नगरवासीलाई रोजगारी पनि दिने र नगरको आयस्रोत बढाउने लक्ष्यका साथ ताल, नगर बगैँचा र फनपार्क निर्माण भइरहेको बताइएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।