ताजा अपडेट »

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

मंगलबार, १६ कार्तिक २०७८, ०८ : ०९
4 Shares

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ः३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ः३० बजे राजीनामा दिएका थिए । प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिएका हुन् । 

विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली कांगे्रससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उनीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ । प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको कांगे्रस सोही सहमतिअनुसार पहिलोपटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो ।

माओवादी केन्द्र, कांगे्रस र नेकपा (एकीकृत समाजवादी) बीच भएको सहमतिअनुसार कांगे्रस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांगे्रसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।