ताजा अपडेट »

केन्द्रदेखि प्रदेशसम्मै एमाले अब प्रतिपक्षी

मंगलबार, १६ कार्तिक २०७८, ०६ : ५१
6 Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सबै सरकार गुमाएको छ । प्रदेश -१ मा रहेको प्रदेश सरकार सोमबार गुमाएसँगै सबैभन्दा ठूलो दल एमाले केन्द्रदेखि प्रदेशसम्म सत्तापक्षबाट अब प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको छ ।

एमाले सचिवसमेत रहेका भीम आचार्यले प्रदेश -१ को मुख्यमन्त्री पदबाट सोमबार राजीनामा दिएका छन् । विश्वासको मत लिनुभन्दा अघि प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका थिए । त्यसपछि उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए । १० भदौमा आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमाले नेता शेरधन राई प्रदेश -१ को मुख्यमन्त्री रहेका बेला उनलाई राजीनामा गराई आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय एमालेले गरेको थियो । प्रदेश -१ मा एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दै छन् । पाँच दलीय गठबन्धनबाट उनी मुख्यमन्त्री बन्न लागेका हुन् ।

गत बुधबार एमाले उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएका थिइन् । २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी शाक्य अघि बाग्मती प्रदेशमा एमाले नेता डोरमणि पौडेल मुख्यमन्त्री थिए । पार्टी विभाजनको बेला पौडेललाई राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको थियो । बाग्मती प्रदेशमा पनि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे पाँच दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री भइसकेका छन् ।

यसअघि लुम्बिनी र गण्डकी प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढलिसकेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपश्चात् लुम्बिनी र गण्डकीमा एमालेले सरकार गुमाएको हो । एमालेको स्पष्ट बहुमत रहेको प्रदेश १ र बाग्मती प्रदेशमा पार्टी विभाजनपश्चात् एमालेले सरकार गुमाउनुप-यो । यो समाचार आजको राजधानी दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।