ताजा अपडेट »

प्रोफेसर मियाको 'मैले देखेको कतार' सार्वजनिक

सोमबार, १५ कार्तिक २०७८, २१ : ०४
4 Shares

काठमाडौं । आफ्नो १५ वर्षको कतार बसाइको अनुभव समेटिएको प्राध्यापक डा. मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ । सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरित गृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयको हातामा रहेको सभाहलमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरेका हुन् ।

उपराष्ट्रपति पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कूटनीतिक, आर्थिकलगायत सम्बन्ध र नेपाली कामदारले कतारलाई समृद्ध बनाउन गरेको योगदानको चर्चा गरेको बताए । कतारबारे जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने उनको भनाई थियो । ‘कतारबारे सुनिएको भन्दा यस पुस्तकमा वास्तविक कतार झल्केको छ,’ उपराष्ट्रपति पुनले भने ।

लेखक मियाको बौद्धिकताको खुलेर प्रशंसा गरेका उनले आफूले पनि नेपाली श्रमिकको रगत पसिनाले निर्माण भएको विकसित र समृद्ध कतार हेर्न चाहेको बताए । मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारीले लेखक मिया कतारमा रहेका नेपाली श्रमिक तथा आम नेपालीका सुख दुःखका साथी भएको टिप्पणी गरे ।

संविधान सभा सदस्य मोहम्मद जाकिर हुसैनले यस पुस्तकले कूटनीतिक क्षेत्रमा तरङ्ग ल्याउने र वास्तवमै अब कतारले नेपाल बनाउन मार्ग प्रशस्त गर्ने धारणा राखे । ओमनबाट भर्खरै कार्यकाल सकेर फर्किएकी पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले यो पुस्तकले कतारका सत्य बोले पनि सबै अरब राष्ट्रहरूको समग्र चित्रण गरेको बताइन् ।

पुस्तकमा कतारमा रहेका नेपालीहरूको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास र विस्तृत परिचय नेपाल कतार बिच सम्भावना भएका दर्जनौं विषय समेटिएको लेखक मियाँले बताए । उनले प्राकृतिक रूपमा सबै कुराहरू भएर पनि विकासमा केही नभए जस्तो नेपाल र प्राकृतिक रूपमा केही कुराहरू मात्र भएर पनि विकासमा सबै भए जस्तो कतारमा सन २००७ अप्रिल पछि देखेका कुरालाई समेटेको बताए । 

‘मैले देखेको कतार’ पुस्तकलाई घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको छ भने यस पुस्तकको अरबिक र अङ्ग्रेजी संस्करण पनि छिट्टै आउने अध्यक्ष कमल ढकालले जानकारी दिए । ‘पुस्तक धेरै प्रकाशित गरियो तर यो पुस्तक अन्य भन्दा नितान्त भिन्न र फरक छ,’ ढकालले भने ।लेखकको यो ३७औं कृति हो । कतारबारे मात्रै उनले १० वटा पुस्तक प्रकाशन गरिसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।