ताजा अपडेट »

श्रीलंकाद्वारा बौद्ध विश्वविद्यालयलाई पुस्तक प्रदान

सोमबार, १५ कार्तिक २०७८, १७ : ५८
4 Shares

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई श्रीलंकाले पुस्तक उपहार दिएको छ । नेपालका लागि श्रीलंकाका राजदुत हिमाली शुभासिनी अरुनतिलकाले सोमबार लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच बौद्ध विश्वविद्यालयका उपकलुपति प्रा.डा. हृदयरत्न बज्राचार्यलाई पुस्तक हस्तान्तरण गरेका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय पुस्तकालयका लागि बौद्ध दर्शनसंग सम्बन्धित १ सय १ थान पुस्तक श्रीलंकाले दिएको हो । सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति बज्राचार्यले यी पुस्तकले बौद्ध दर्शन अध्ययन गरिरहेका विद्यार्थीको पठनपाठनमा सहज हुने बताए । उनले विश्वविद्यालयले सुविधासम्पन्न केन्द्रीय पुस्तकालय निर्माण गरेकाले त्यसमा सयौं पुस्तकहरु राखिने बताए । ‘हामीले बौद्ध मुलुकहरु अनुसारको कक्ष नै बनाएर पुस्तक राख्ने योजना बनाएका छौं, त्यसमा एउटा श्रीलंका कक्ष हुनेछ ।’ उनले राजदूतलाई भने । पुस्तकालयका लागि पुस्तक संकलनको काम निरन्तर भइरहेको उनले बताए ।

सो अवसरमा बोल्दै राजदूत अरुनतिलकाले बौद्ध शिक्षाको माध्यमबाट नेपाल र श्रीलंकाबीचको सम्बन्ध बलियो हुदै जाने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालय र श्रीलंकाका विश्वविद्यालयबीच आपसी सम्बन्ध कायम राखी शैक्षिक विकासमा काम गर्न आवश्यक रहेको उनले बताए । बुद्ध जन्मस्थल महत्वपूर्ण तिर्थस्थल रहेको भन्दै उनले श्रीलंकालीहरु लुम्बिनी आउन लालायित हुने बताए । लुम्बिनीको पर्यटनले यस क्षेत्रकै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो । आफू लुम्बिनी बौद्ध विश्वविद्यालयमा दोस्रो पटक भ्रमण गर्न पाउदा उत्साहित भएको उनले बताए ।

सो अवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्य, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. रामचन्द्र पौडेल, अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी, निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्ले, केन्द्रीय क्याम्पस प्रमुख नीरबहादुर गुरुङ, सहायक क्याम्पस प्रमुख डा. शारदा पौडेल, पूर्व क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेले बोल्दै श्रींलकाका बौद्ध विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सहकार्य निरन्तर हुनुपर्ने बताए ।

सो अवसरमा भिक्षु डा. संकिच्च महास्थविरले श्रीलंकाली राजदुतावासले विश्वविद्यालयसंग निरन्तर सहकार्य गर्न आवश्यक रहेको बताए । उनले श्रीलंकामा बुद्ध शासन मन्त्रालयले प्रकाशन गरेका पुस्तकहरु नै विश्वविद्यालयका लागि आएको जानकारी गराए । कार्यक्रम संयोजन भिक्षु संकिच्च महास्थविरले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।