ताजा अपडेट »

पौष मसान्त भित्रै लुम्बिनीका सबै जिल्लामा प्रेस चौतारीको अधिवेशन

सोमबार, १५ कार्तिक २०७८, १७ : ४५
4 Shares

बुटवल । प्रेस चौतारी नेपालको लुम्बिनी प्रदेशका १२ वटै जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र हुने भएको छ । अधिवेशन सम्पन्न गर्नका लागि चौतारीले जिल्लाहरुमा फोकल पर्सन तोकेको छ ।

प्रेस चौतारीको लुम्बिनी प्रदेश कमिटी बैठकले अधिवेशन सम्पन्न गर्न नवलपरासीका लागि यम राना र केशव पराजुली, रुपन्देहीमा प्रदीप आचार्य, कपिलवस्तु पार्वती पाण्डे, पाल्पामा कमलराज तिमिल्सिना, गुल्मीमा युवराज पाण्डे, अर्घाखांचीमा गणेश खनाल, प्युठानमा गिरु भण्डारी, दाङमा टिका बस्नेत, रोल्पा र रुकुममा शोभाखर पन्थी, बांकेमा भेषराज बस्नेत र बर्दियाका लागि रुद्र सुवेदीलाई फोकल पर्सन तोकेको हो ।

बैठकले लुम्बिनी प्रदेशमा ९९ सदस्यीय कमिटी रहने गरी पूर्णता दिएको छ । यसअघि केन्द्रिय सचिवालयले प्रदेश कमिटीमा संयोजक र सहसंयोजक सहित सदस्यहरुको मात्र ब्यवस्था गरेकामा नयाँ ब्यवस्था अन्तर्गत पदाधिकारीको जिम्मेवारी बाँडफाड गरिएको हो । प्रेस चौतारी प्रदेश कमिटीको अध्यक्ष शोभाखर पन्थी (अर्घाखांची), उपाध्यक्ष प्रदीप आचार्य(रुपन्देही),महिला उपाध्यक्ष पार्वती पाण्डे(कपिलवस्तु), महासचिब भेषराज बस्नेत (बाके),सचिव अमृत गिरी(रुपन्देही),सचिव बेनीमाधब बस्याल (नवलपरासी)र कोषाध्यक्ष एल.बी थापा (प्युठान)लाई जिम्मेवारी दिइएको छ ।

बाँकेको कोहलपुरमा सम्पन्न कमिटीको बैठकले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक सच्याउनका लागि आग्रह गरेको छ । प्रदेश सभामा दर्ता भएको सञ्चार सम्बन्धि व्यवस्था गर्न बनेको एकिकृत विधेयक सञ्चारमैत्री नभएको धारणा संगठनले विगतदेखि नै राख्दै आएको स्पष्ट पारेको छ । विधेयकमा ब्याख्या गरिएका सञ्चार र पत्रकार विरुद्धका दफाहरु, पत्रकारहरुलाई फौजदारी अभियोग सरह सजाय गर्ने र सरकारले सञ्चार गृह बन्द गर्न सक्ने जस्ता व्यवस्था तत्काल खारेज गरी विधेयकमा ब्यवस्था गरिएको प्रेस रजिष्ट्रार नियुक्ति प्रकृयालाई खुला प्रतिस्पर्धाबाट स्वतन्त्र ब्यक्ति छनोट गर्ने ब्यवस्था सहित कानुन निर्माण गर्न माग बैठकले माग गरेको छ ।

यसैगरी मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारले ५० लाख रुपैयाँको पत्रकार कल्याणकारीकोष स्थापनाको निम्ति रकम विनियोजन गरेकोमा बर्तमान सरकारले कल्याणकारी कोषको रकममा कटौती गरेर सिङ्गो पत्रकारीता क्षेत्रमाथि लात हान्ने काम गरेको बैठकले ठहर गरेको छ ।

प्रेस चौतारीले पत्रकार महासंघ लुम्बिनी प्रदेशले कोरोना विमा गरेबापत ३ जना पत्रकारहरुले पाउनु पर्ने रकम नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरेको छ । बिमा कम्पनी शिखर इन्स्योरेन्सले महासंघलाई रकम भुक्तानी गरेको भए पनि महासंघले सम्बन्धित पत्रकारहरुलाई रकम उपलब्ध नगाएको समाचार केही समयअघि बाहिरीएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।