ताजा अपडेट »

उत्पादनमा लगानी गर्ने वातावरण बनाउन ब्यवसायीको माग

सोमबार, १५ कार्तिक २०७८, १७ : २३
4 Shares

बुटवल । मुलुकको समृद्धिका लागि उत्पादनमा लगानी गर्ने वातावरण बनाउन लुम्बिनी प्रदेशका उद्योगी–ब्यवसायिहरुले सरकार समक्ष माग गरेका छन् । अव्यवस्थित भन्सार प्रणाली,अब्यवहारिक राजश्व नीति र झन्झटिलो प्रक्रियाका कारण उत्पादनतर्फ आकर्षण बढ्न नसकेको उनिहरुको निस्कर्ष छ ।

वर्तमान राजस्व नीतिको समीक्षा एबम आगामी नीति बारे सुझाव सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उद्योगी ब्यवसायीले सरकारले विगतमा २० अर्ब भन्सार राजस्वको परिकल्पना गर्दाको भन्सार ब्यवस्थापन आज १२७ अर्बको राजस्व परिकल्पना गर्दा पनि उहीँ क्षमतामा चलिरहेको गुनासो गर्दै भन्सार कार्यालयहरुको क्षमता बढाउन माग गरे ।

भन्सार बिन्दुमा एकीकृत जाँच प्रणाली छिटो स्थापना गर्न, भन्सारसँग सरोकार राख्ने बैंक, क्वारेन्टाइन, नापतौल र गुणस्तर कार्यालयहरुलाई २४ सै घन्टा खोल्ने ब्यवस्था मिलाउन, अनलाइन प्रणालीहरुलाइ ब्यवस्थित गर्न, ठूला उद्योगको समस्या समाधान गर्ने नाममा साना उद्योगलाई मारमा नपार्न, करको दायरा बढाउदै दर घटाउन, कोभिडले मारमा परेका उद्योगी ब्यवसायीलाई ब्याज लगाएतका विषयमा सुबिधा दिन माग गरे ।

अन्तक्रियामा बोल्दै लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक पोखरेलले सरकारको भन्सार लक्षित राजस्व नीतिलाई अब परिमार्जन गर्न जरुरी रहेको बताए । उनले राजनितिक दलका नेता र नेपाल सरकारका कर्मचारी मोटाउँदै जाने तर उद्योगी ब्यवसायीहरु दुब्लाउदै जाने परिस्थिती रहेको भन्दै राजस्व तिरेर मुलुक चलाउन योगदान गर्ने ब्यवसायीलाई सम्मान गर्न आग्रह गरे । उत्पादनमा मात्र अनुदान दिन, उत्पादित बस्तुको बजार ग्यारेन्टी गर्न, अवैध ब्यापारलाई निस्तेज गर्न, भन्सारमा कारोबार मुल्यलाई मान्यता दिएर अन्डर बिलिङको समस्या समाधान गर्न आग्रह गरे ।

नेपाल उद्योग बाणिज्य महासङघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले वर्षाैदेखि उद्योगी ब्यवसायीका समस्या उठाउँदा पनि सुनुवाइ नभएको गुनासो गरे । उद्योग बाणिज्य संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले अरबौं लगानी भएका उद्योगहरुको सुरक्षामा राज्य गम्भीर नभएको आरोप लगाए । समृद्धिका लागि योगदान गर्ने उद्योगी ब्यवसायीका समस्या समाधान गर्न, उत्पादनतर्फ आकर्षित भइरहेका नयाँ पुस्तालाई प्रोत्साहन गर्न उद्योग स्थापनादेखि सन्चालन गरेर त्यसले बजारमा सामान नपठाउँदासम्म अनावश्यक झन्झट नदिन आग्रह गरे ।

घरेलु तथा साना उद्योग समितिका लुम्बिनी प्रदेश अध्यक्ष नेत्र पाठकले खानिजन्य र वन पैदावर सङ्ग सम्बन्धित उद्योगहरु सन्चालन गर्ने वातावरण बनाउन माग गरे । नेपाल उद्योग परिसंघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहोराले उत्पादनमा लागेका उद्योगीहरुलाई राज्यले प्रोत्साहन गर्न नसकेको गुनासो गरे । कच्चा पदार्थको आयात गर्ने सवारी साधन र पर्यटक भित्रिने सवारी साधनलाइ अलग अलग सडकको ब्यवस्था गरेर भन्सारमा लाग्ने सवारीको लाइन घटाउन सकिनेतर्फ सचेत गराए । नागरिकले राजस्व तिर्न आउने कार्यालयहरुको भद्रगोल अवस्था हटाएर ब्यवस्थित गर्न, विश्राम स्थल, पेयस्थलको ब्यवस्था गरेर करदातालाई सम्मान गर्न आग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्जवल कसजुले उद्योगका लागि उचित स्थान र वातावरणको व्यवस्थासँगै कोरोनाबाट प्रभावित भएका व्यवसायीहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए। उनले औद्योगिक विकासका लागि छुट्टै औद्योगिक क्षेत्रको स्थापना तथा सञ्चालन गरी उद्योगलाई दिगो र व्यवस्थित बनाउन सुझाय ।

ब्यवसायीहरुले राखेका सुझावहरुको सम्बोधन गर्दै नेपाल सरकार अर्थ मन्त्रालय का राजस्व सचिब कृष्णहरी पुस्करले भन्सारहरुको क्षमता अभिवृद्धि गर्न, भन्सार प्रक्रियामा सामानहरु जाँचपास गर्न भेहिकल स्क्यानरको ब्यवस्था गर्ने, अनलाइनलाई थप ब्यवस्थित बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

उनले कतिपय नीतिगत र अन्तरराष्ट्रिय–क्षेत्रीय सन्धी सम्झौताहरु भन्सार र राजस्व नीतिमा बाधक रहेकोले त्यसलाइ सम्बोधन गर्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा चेम्बर अफ कमर्सका रुपन्देही अध्यक्ष यमलाल लोहनी, ब्यवसायीहरु नरिश्वर पौडेल, ध्रुब धिताल, लगाएतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।