ताजा अपडेट »

पर्यटक पछ्याउँदै भलामचौर

आइतबार, १४ कार्तिक २०७८, २० : ५३
8 Shares

लमजुङ । गुचमुच्च परेको सुन्दर गाउँ । काखैमा रहेको मनासलु, डा. हर्कपिकलगायत सुन्दर हिमालका दृश्य । झट्ट हेर्दा सार्कभिलेज घलेगाउँकै झल्को दिन्छ भलामचौरले । 

पर्यटकीय दृष्टिकोणले सुन्दर भएर पनि ओझेलमा परेको लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, सिमपानीको भलामचौर गाउँ अब भने पर्यटकलाई पछ्याउन थालेको छ । जम्मा ६ किलोमिटर मात्रै दुरीमा रहेको घलेगाउँले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाए पनि घलेगाउँकै झल्को दिने भलामचौरमा भने पर्यटन प्रवर्द्धन र व्यवस्थापनमा खासै चासो पुग्न सकेको थिएन ।

पर्यटकीय सम्भावना बोकेको भलामचौरलाई मर्स्याङ्दी गाउँपालिकाले पर्यटकीय गन्तव्यको रूपमा राखेको छ । स्थानीय पनि गाउँमा होमस्टे सञ्चालन गरी पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा जुट्न थालेका छन् । सदरमुकाम बेसीशहर हुँदै खुदीको गोपालडाँडाबाट साँढे ५ किलोमिटर दुरीमा पुगिने भलामचौर अन्नपूर्ण पदमार्ग र गुरुङ सम्पदा मार्गमा पनि पर्ने भएकाले पर्यटनको सम्भावना छ । पर्यटनको प्रचुर सम्भावनालाई सम्वृद्धिसँग जोड्न स्थानीयवासी र मर्स्याङ्दी गाउँपालिका लागि परेको छ ।

पर्यटकीय गाउँको रूपमा विकास हुन लागेको भलामचौरका १५ घरमा होमस्टे सञ्चालन भइसकेको भलामचौर होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष लुकुमारी गुरुङ बताउँछन् । 'गाउँ आउने पर्यटकले स्थानीय संस्कृति, प्राकृतिक मनोरम वातावरण र स्थानीय परिकारको मज्जा लिन पाउँछन्', अध्यक्ष गुरुङ भन्छिन्, ‘लमजुङको पर्यटनमा भलामचौरले चाँडै नै नयाँ आयाम लिनेमा हामी ढुक्क छौं ।

मनासलु, डा. हर्क हिमाल लगायत दर्जनौं हिमशृङ्खला, नागबेली आकारमा बनेको मर्स्याङ्दी नदी र मनोरम प्राकृतिक वातावरणले भलामचौर आउने पर्यटक लोभिने उनको भनाई छ । पर्यटकलाई लक्षित गरी गाउँमा शौचालय, बाथरुम, बेडरुम लगायत अत्याधुनिक संरचना पनि बनेको सचिव तेजबहादुर गुरुङ बताउँछन् । 

उनका अनुसार गाउँमा ५० जना सम्म पाहुना राख्न सकिने क्षमता छ । बाइसे चौबिसे राजाको पाला रहेको गढी पनि गाउँ नजिकै छ । त्यहाँ रहेको ठूलो ओढारभित्र जुवा, त्रिपासा खेल्ने ढुंगा, सुन्दरी तलाउ, मान्द्रे ढुंगा र तीन कन्या देवी मन्दिर, पहराको कलादेवी, सिद्ध मन्दिर पर्यटकका लागि आकर्षण दिने ठाउँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।