ताजा अपडेट »

लुम्बिनीसँग जोडिएका चार नगरपालिकाले गरे स्पेनको नगरपालिकासँग भगिनी सम्बन्ध

आइतबार, १४ कार्तिक २०७८, १९ : २२
8 Shares

बुटवल । लुम्बिनीसँग जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासीका चार नगरपालिकाले स्पेनको काथेरेस नगरपालिका, काथेरेस प्रादेशिक सरकार संस्कृति पर्यटन नथा खेलकुद मन्त्रालयसँग भगिनी सम्बन्ध कायम गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिका र मावली क्षेत्र देवदह नगरपालिका, कपिलवस्तु नगरपालिका र रामग्राम नगरपालिकाबीच कपिलवस्तुको प्राचीन तिलौराकोट दरबार क्षेत्रमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । यसको अगुवाइ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।

बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र स्पेनको काथेरेस प्रादेशिक सरकारका प्रतिनिधिहरूको रोहवरमा दुवै देशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले हस्ताक्षर गरेका हुन् । त्यसैगरी स्पेन सरकारको काथेरेस नगरपालिकाका प्रमुख, काथेरेस प्रदेश सरकारका प्रतिनिधिहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भगिनी सम्बन्ध बिस्तारले स्पेन र नेपालबीचको सम्बन्ध थप सुमधुर हुने बताए । उनले दुवै देशबीच आपसी सम्बन्ध बढाउँदै विकास निर्माणको क्षेत्रमा समेत फड्को मार्नका लागि भगिनी सम्बन्धलाई उपयोग गर्न सकिने बताए ।

स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा भगिनी सम्बन्ध स्थापनाका लागि प्रयास सुरु भएको हो । संसारभर अहिंसा, शान्ति, सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आएर बुद्ध नगरहरूसँग भगिनी सम्बन्ध राख्ने कार्यको शुभारम्भ गर्न पाउँदा आफूहरू निकै खुसी भएको काथेरेस नगरका प्रमुख, प्रदेश सरकारका प्रतिनिधिहरूले बताएका छन् ।

स्पेनका काथेरेस नगरपालिकाका प्रमुख तथा प्रतिनिधि र प्रदेश सरकारको प्रमुख तथा प्रतिनिधिहरूले शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्राचीन राजदरबार क्षेत्र, सम्राट् अशोकले स्थापना गरेको अशोक स्तम्भलगायतका बौद्धकालीन स्थलहरूको अवलोकन गरेका थिए ।

स्पेनको काथेरेस नगरसँग भगिनी सम्बन्ध स्थापनाको सहमतिपत्रका हस्ताक्षर हुँदै गर्दा यहाँका बौद्धस्थल आसपासका क्षेत्रमा विकासको फड्को मार्न सकिनेमा कपिलवस्तु, रुपन्देही र नवलपरासीका नगर प्रमुखहरू आशावादी बनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।