ताजा अपडेट »

सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग

मंगलबार, ०९ कार्तिक २०७८, २२ : ३९

काठमाण्डौं । सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जङ्गे पिलर कायम गर्न माग गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणसँग आज मन्त्रालयमा भेट गरी उनीहरुले उक्त माग गरेका हुन् ।

अभियान टोलीले मन्त्री खाँणलाई चार बुँदे ज्ञापनपत्रसमेत बुझाएको छ । ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्ताबासीको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सासमेत गरी जग्गाधनी प्रमाणपत्र वितरण गर्न माग गरिएको छ । संविधानसभा सदस्यद्वय देवकरण कलवार र विक्रम खनालसहितको टोलीले गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल–भारत सीमा छुट्टयाउनुपर्ने, सुस्ताबासीले जोतभोग गरी आएको जग्गाको लालपुर्जा वितरण गरी राजस्व सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्ने, स्थानीय बासिन्दालाई नागरिकता उपलब्ध गराउनुपर्नेलगायत उनीहरुले माग छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले मागबारे आफू सकारात्मक रहेको उल्लेख गर्नुभयो । अन्य मन्त्रालयसँग सरोकार राख्ने विषयमा सम्बन्धित मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाउन उनले आग्रह गरे । सीमाङ्कन गर्ने, सशस्त्र प्रहरी परिचालन गर्ने र भूमि बचाउने विषयमा आफू सकारात्मक रहेको गृहमन्त्री खाँणको भनाइ थियो ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।