ताजा अपडेट »

कपिलवस्तुका ६ स्थानीय तहमा फैलियाे झाडापखाला, गाउँलेमा छैन सचेतना

मंगलबार, ०९ कार्तिक २०७८, ११ : १९
4 Shares

कपिलवस्तु । कृष्णनगर-५ डेबराका गंगादेवी पाण्डेय घरको आँगनमा इनार रहेको छ । दसकौँ वर्ष अगाडि खनिएको इनारदेखि पानी नियाल्दा गाढा कालो देखिन्छ । पानीको सतह हेर्दा घीन लाग्छ । भ्यागुताले टाउको देखाउँदै डुबुल्की मारेकाे देखिन्छ । तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने नीति बनाएका छन् । तर डेबराका विपन्न र दलित समुदाय भने पानी पिउन इनार सहारा लिनुपरेको छ । 

गाउँका अगुवा वंशराज रैदास भन्छन्, ‘गाउँमा तीन सातादेखि हैजा फैलिएको छ । दूषित पानी खाएका कारण हैजा फैलिएको भन्दै स्थानीय सरकारले स्वच्छ पानी खान आग्रह गरेको छ । तर हामी सँग कुनै उपाय नै छैन । सम्पन्न र ब्राह्मण समुदायका घरमा ह्याण्डपम्प छन् । उनीहरूको पानी हामीलाई चल्दैन । करिब नाै घर यही इनारको पानीको भरमा चलेको छ । ’

हैजा प्रभावित कपिलवस्तुको कृष्णनगर नगरपालिका-५ डेबरा गाउँका स्थानीयलाई इनारको पानी पिउने बाध्यता छ । पानी पिउन धारा नभएका कारण विपन्न तथा दलित परिवार दशकौँदेखि इनारको पानी खाँदै आइरहेका छन् । केही घरधुरीले चापाकल प्रयोग गर्ने गरेका छन् । तर चापाकलको पाइप भने इनारमा पुर्‍याइएको छ । 

इनारको पानी प्रशोधन नगरी दैनिक क्रियाकलापमा प्रयोग गरिएको सामाजिक अभियन्ता पृथ्वी पाल तेलीले बताए । झाडापखालाको सर्वे गर्ने क्रममा स्थानीयसँग सोधपुछ गर्दा इनारको पानी पिउने गरेको थाहा भएको तेलीले बत्ताउँछन् । तेली भन्छन्, ‘स्थानीयले इनारको पानी पिउन, लुगा धुन, नुहाउन र गाईवस्तुलाई खुवाउनसमेत प्रयोग गर्छन् । सर्वे गर्दा वंशराज रैदास, त्रिवेणी रैदास, छोटकाउ रैदास, नन्काउ रैदास, जोगराम रैदास, राम किशोर रैदास, पुरन रैदास, गंगादेवी पाण्डे र उनका छिमेकीले समेत इनारको पानीको भर पर्ने गरेका छन् । 

उपचार नगरी घरमै बस्छन् बिरामी 

डावराका इन्द्रावती केवटलाई झाडाबान्ता देखिएको पाँच दिन भएको छ । औषधि खाए पनि सन्चो भएको छैन । कालिका स्वावलम्बन सामाजिक संस्थाअन्तर्गत सुहारा कार्यक्रमका कर्मचारी पृथ्वीपाल तेलीले दुई किलोमिटर टाढा रहेको शिवराज अस्पतालका उपचार गर्न जान सल्लाह दिन्छन् । तर उनलाई अस्पताल जाने रुचि छैन । केवट भन्छिन्, ‘टोनवा झराई, टोना रही तब दबाइ नही लागी ( झारफुक गर्छु, त्यो भए औषधिले काम गर्दैन), निको नभएपछि अस्पताल जान्छु ।’

यता कृष्णनगर-७ सुखरामपुरका एक महिला स्वास्थ्य स्वयंसेविकाको छोरा ११ वर्षका गौतम रैदासलाई शनिबारदेखि झाडापखालाको लक्षण देखिएको छ । आइतबार उनले चारपटक दिसा गरेका थिए । जीवनजल र अन्य औषधि नखाएको भन्दै दुईपटक पानी मात्र खाएको रैदासले बताए । महिला स्वास्थ्य स्वयंसेविकाको छोरा भए पनि दुई दिनदेखि उपचार नगरी गाउँमा डुलेका थिए । 

सोही गाउँका पाँच महिनाका अर्श शाह १० दिनदेखि बिरामी परेका छन् । कृष्णनगरको डा.अनवरका उपचार गरेको शाहलाई डवल एन्टीबायोटिकदेखि इन्जाइमसम्म औषधि दिइएको छ । तर उनले खाने मेट्रो नाम गरेको औषधि थिएन । जिंक मिसिएको मन्टी भिटामिन औषधि ६ थोपा दैनिक तीनपटक खान सिफारिस गरेका थिए । उनलाई दिएको औषधिको विषयमा शिवराज अस्पतालका डा‍. मुकेश चौधरीसँग सोधपुछ गर्दा अनावश्यक औषधि र एकपटक खानुपर्ने जिंक ओभरडोज दिएको बताए । गाउँमा अझै पनि बिरामी भए पनि धान स्याहार्ने काममा व्यस्त हुँदा उपचार नगरी घरमै बस्दै आएका छन् । 

डेरा सार्दै झाडापखाला जिल्लाका ६ पालिकामा रोग फैलिन सुरु 

कृष्णनगर नगरपालिकामा देखिएको झाडापखालाको प्रकोप जिल्लाका अन्य पाँच स्थानीय तहसम्म फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कृष्णनगरसँगै बुद्धभूमि नगरपालिका, महाराजगञ्ज नगरपालिका, शिवराज नगरपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिकासम्म फैलिएको छ । कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका बिरामीको दिसाका नमुनामा हैजा भएको पुष्टिसमेत भएको छ । कार्यालयका अनुसार कृष्णनगर नगरपालिकामा तीनजना, शिवराज नगरपालिका र यशोधरा गाउँपालिकामा दुईजना गरी पाँचजनाको मृत्यु भएको बताएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।