ताजा अपडेट »

भैँसीमा बेमौसमी प्रजनन सफल

मंगलबार, ०९ कार्तिक २०७८, ०७ : ११
8 Shares

काठमाडाैं। दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए ।

“हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भने, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सफल भएका छौँ । यो कुल प्रजननको ४७ प्रतिशत हो ।”

नगद पशुधनका रूपमा लिइने भैँसीको मुख्य प्रजनन मौसम साउनदेखि मङ्सिरसम्म हो । यो बेला हरियो घाँस र पोषणयुक्त खानेकुराका साथै वर्षात्मा सजिलै पानीमा आहाल खेल्न पाउने भएकाले भैँसीको प्रजनन मौसम मानिन्छ । यसरी प्रजनन भएका भैँसी १० महिनामा ब्याउँछन् । फागुनदेखि वैशाखसम्मको सुक्खा समय भने भैँसी प्रजननका लागि बेमौसम मानिन्छ ।

“फागुन, चैतजस्ता सुक्खायाममा भैँसीको तनावयुक्त रस ‘फर्टिटोल’ उत्पादन हुन्छ । यसले प्रजननमा समस्या हुने गरेको हो”, प्राडा देवकोटाले भने, “पोसिला दाना र खानपिनमा ध्यान दिई भैँसीको शरीरमा हर्मन विकास गराएर फर्टिटोल कमजोर बनाउँदै डिम्बाशय सक्रिय गराई प्रजनन गराइने गरिएको छ ।”

कृषि तथा वन विश्वविद्यालयले चितवनको रामपुर भैँसी फर्म, पोखराको पशु विकास फर्म, सुनसरीको सररा पशु विकास फर्ममा रहेका भैँसीमा अनुसन्धान गरेको थियो । अहिले यो कार्य किसानका भैँसीमा पनि सुरु भइसकेको बताइन्छ । विश्वविद्यालयका पशु विज्ञानमा विद्यावारिधि र स्नातकोत्तर तहमा अध्यययनरत विद्यार्थीलाई यो अनुसन्धानमा परिचालन गरिएको छ । “हामीले विगत १५ वर्षदेखि भैँसीको बेमौसमी प्रजननबारे अध्ययन सुरु गरेका थियौँ । पछिल्ला पाँच वर्षदेखि विस्तारै यसले उपलब्धि दिन थालेको छ”, देवकोटाले भने ।

विश्वमा सयभन्दा बढी जातका भैँसी छन् । तीमध्ये नेपालमा पाँच जातका भैँसी पालन गरिएको पाइन्छ । नेपालमा स्थानीय चार (लिमे, पारकोटे, गड्डी र तराई जात ) र भारतबाट आयात भएको एक (मुर्रा) गरी पाँच जातका भैँसी पालन गरिएको हो । लिमे, पारकोटे र गड्डी पहाडी क्षेत्रमा पालिने भैँसी हो भने तराई भैँसी र मुर्रा तराईमा पालिएका छन् । मुर्रा भैँसी भारतबाट नेपाल भित्र्याइएका हुन् ।

विश्वविद्यालयअन्तर्गत पशु चिकित्सा विज्ञानतर्फका सहप्राध्यापक डा. सुवीर सिंह का अनुसार नेपालमा ५५ लाख भैँसी पालिएका छन् । नेपालमा उत्पादन हुने दूधमा ६४ प्रतिशत र मासुमा ५४ प्रतिशत हिस्सा भैँसीले ओगटेको छ । नेपालको कृषि उत्पादनमा धानपछि दोस्रो स्थान ओगटेको भैँसीमा भइरहेको बेमौसमी प्रजननको विकासले मासु र दूध उत्पादनमा अझ वृद्धि गराउन सकिने डा. सिंहको विश्वास छ ।

“नेपालका रैथाने भैँसी विस्तारै विस्थापित हँुदै भारतका मुर्रा भैँसी भित्रिरहेका छन् । यस्तो अवस्थामा बेमौसमी प्रजननमा ध्यान दिएर पनि रैथाने जातका भैँसीको संरक्षण गर्न जरुरी छ”, उनले भने । प्राप्त एक तथ्याङ्कअनुसार विश्वभरि रहेका सयभन्दा बढी प्रजातिका भैँसीमध्ये ९० प्रतिशतभन्दा बढी एसियामा छन् । भैँसीपालनका हिसाबले नेपाल विश्वकै पाँचौँ देशभित्र पर्छ । गोरखापत्र दैनिकमा खबर छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।