२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

पाकेको धान काटौँ कि नकाटौँ

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम खुलिसकेको छैन । मौसम बादल लागेर धुम्म भइरहेको छ । छर्लङ्ग मौसम नखुल्दा किसानले खेतमा लगाएको धान पाकेर पहेँलपुर हुदाँसमेत काट्ने हिम्मत जुटाउन सकेका छैनन् । 

Advertisement

बेमौसमी वर्षाले तर्सिएका जिल्लाका किसान धान काट्दा भन्दा नकाट्दा कम क्षति हुने आकलन गरेर खेतमा पस्न नसकेको बताउँछन् । अन्य जिल्लाको तुलनामा तनहुँमा बेमौसमी वर्षाले कम क्षति पुर्‍याएको छ । तसर्थ जब आकाशको बादल हटेर मौसम खुल्छ त्यसपछि बल्ल धान काट्न सुरु गर्ने मनस्थितिमा किसान छन् । मौसम यस्तै रहीरहे अझै केही दिन धान नकाट्ने सुरु छ उनीहरूको ।

खेतमा धान पाकेर पहेँलै हुँदा पनि मौसमले साथ नदिँदा काट्न सुरु नगरेको शुक्लागण्डकी नगरपालिका–८ लामिताराका किसान दिलबहादुर सुनार बताउँछन् । सुनारले चार सय फाँटमा आठ रोपनी क्षेत्रफलमा धान खेती गरेका छन् । उनी भन्छन्, ‘धान पाकिसकेको छ । केही दिन अझै पानी पर्छ भन्ने सुनिन्छ । मौसम पनि पहिलाको जस्तो खुलेको छैन । कुलोको नजिक छ खेत, नकाटौं भने खोला बढेर आएर डुबाउँछ की भन्ने पिर । काटेर भुँइमा सुकाऊ भने पनि त्यहीँ उम्रन्छ की ! दोधारै दोधार बनाएको छ ।’  

पाकेको धान भित्र्याउने बेला बेमौसमी वर्षाले किसानलाई जगजगी बनाएको सुनारले बताए । दिलबहादुरका अनुसार चार सय फाँटमा एकाध किसानले मात्रै धान काट्न थालेका छन् । धान काट्नेले पनि मौसमको भर नहुँदा काटेकै दिन घरमै ल्याएर राख्ने गरेको उनले बताए । विगतका वर्षमा धान काटेर खेतमै साता दिनसम्म सुकाएर बल्ल कुन्युँमा राख्ने पछि गोरुले दाही हालेर धान पराल छुट्टाई भकारीमा थन्क्याउने गरिन्थ्यो ।

जिल्लाको ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, शेराफाँट, बाह्रबिसे,  तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका फाँटमा धान खेती हुन्छ । असारमा चैते धान थन्क्याएपछि रोपिएको बाहेक अधिकांश टारी र बेसीका फाँटमा यतिबेला धान पहेँलपुर भएर झुलेको छ ।

भिमादको शेराफाँट र बाह्रबिसे फाँटमा दशैँ लगत्तै झरी नपरेको भए ९० प्रतिशत धान काटेर सकिन्थ्यो । आधा जतिले घरको भकारीमा लगेर धान थन्क्याइसक्थे । तर धान पाक्ने बेलामा परेको दशैँ र दशैँ मनाएर नसक्दै सुरु भएको बेमौसमी झरीले पहेँलपुर धान काट्न पाएका छैनन् ।

मौसमले साथ नदिए पनि केहीले डराई-डराई धान काट्न थालेको भिमाद नगरपालिका–९ कोखेका किसान टिकाराम तिवारीले बताए । ‘निर्धक्क भएर धान थन्क्याउन यस वर्ष मौसमले साथ दिएको छैन । धेरै पाकेर धानको बाला चुँड्ने, गेडा झर्ने, ढल्ने जस्ता समस्या देखिएपछि केहीले जोखिम मोलेरै काट्न सुरु गरेका छन्’, उनी अगाडी थप्दै भन्छन्, ‘लामो झरी हाल्यो, घाम लागे पनि झलमल भइरहेको छ । कति बेला पानी खस्ला भन्ने डर भो । डरै डरमा जे होला होला भनेर पाकेको धान काट्नु परेको छ ।’ 

झरीले धान काट्न नपाएपछि फाँटै पहेँलपुर हुँदा मौसमले साथ दिए पनि भनेको बेलामा थन्क्याउन नपाइने चिन्ता थपिएको तिवारीले बताए । ‘पहिला पो जसको पाक्छ उसको काट्ने थन्काउने हुन्थ्यो । यसपालि त सबैको पाकेको छ । कसैको काट्न पाइएको छैन । सबैको एकै पटक काट्नुपर्दा खेताला पाउन पनि मुस्किल हुने पक्का छ’, उनले भने । 

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी यसपालि धान काट्दा किसानले सोचविचार पुर्‍याउनुपर्ने बताउँछन् । विगतका वर्षमा जस्तो एकै पटक धेरै धान काट्ने र केही दिनपछि थन्क्याउने नगर्न किसानलाई उनको सुझाव छ । उनी भन्छन्, ‘दिनभरि काटेको धान त्यही दिन थन्क्याउनुपर्छ । एकै पटक धेरै काट्दा झन् धेरै क्षति हुन सक्छ । मौसम बदली भइरहेको छ, अझ केही दिन पानी पर्न सक्छ ।’

जिल्लामा यसपालि १० हजार ८ सय  ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । तिवारीका अनुसार कात्तिकमा भएको बेमौसमी वर्षाले जिल्लाको दुई हजार दुई सय हेक्टर क्षेत्रफल धान खेतीमा आंशिक क्षति पुर्‍याएको छ । ३ प्रतिशत धान खेतीमा क्षति भएको हो । यसले धानको कुल उत्पादनमा १० प्रतिशत ह्रास ल्याउने आकलन गरिएको छ  । 

तनहुँमा ११ हजार २ सय ६९ हेक्टर क्षेत्रफल धान खेती गर्न योग्य जमिन हो । जिल्लाका किसानले सावित्री, मकवानपुरे, रामधाान सुख्खा १, सुख्खा २ सँगै हाइब्रिड धान लगाउने गरेका छन् । असारमा मानो रोपेर यतिबेला मुरी धान उब्जाई भकारीमा हालेर वर्ष दिन ढुक्क हुने किसानलाई कात्तिके बेमौसमी झरीले चिन्ताको भारी बोकाएको छ । -विनोद ढुंगाना/न्यूज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा