ताजा अपडेट »

१० दिनदेखि खानेपानीको हाहाकार

सोमबार, ०८ कार्तिक २०७८, २० : ३९
2 Shares

बैतडी । बैतडी सदरमुकाममा गएको १० दिनदेखि खानेपानीको हाहाकार भएको छ । खानेपानी अभाव भएपछि जिल्ला सदरमुकामबासी नजिकका धारा तथा कुवामा पानी खोज्न भौँतारिन थालेकाछन् । 

साहिलेकका व्यापारी चेतराज पाण्डेयले जसको नजिक जतापर्छ त्यतै जान गरेको बताए । 'नजिक पानीका कुनै पनि धारा कुवा छैनन् । गाडीमा पनि कम्तीमा एक घण्टा लाग्ने ठाउँमा पानी पाइन्छ । तै पनि पर्याप्त पानी भने कतै पाइँदैन । सवारी साधन भएकाहरू साधनमा ल्याउँछन् । नभएकाहरू पिठ्युँमा बोक्दै ल्याउँछन्,’उनले भने। 

गत साता परेको अविरल वर्षाका कारण खसेको पहिरोले खानेपानीको मुहानमा क्षति पुर्‍याएपछि सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । 

सदरमुकामबाट झण्डै ६ किलोमिटर टाढा रहेको माडखोला मुहानमा पहिरो खसेपछि सदरमुकाममा आउने खानेपानी अवरुद्ध भएको हो । मुहानसहित पाइप लाइनमा समेत पहिरोले क्षति पुर्‍याएको बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले बताए । उनले भने, ‘पहिरोले खानेपानीको संरचनामा व्यापक क्षति पुर्‍याएकाले खानेपानी सुचारु गर्न समस्या भएको छ । हामीले खानेपानी सञ्चालनका लागि पहल गरिरहेका छौं ।’

सदरमुकाम क्षेत्रमा खानेपानी अवरुद्ध भएपछि सबैभन्दा बढी मारमा होटेल व्यवसायी परेका छन् । पानी नहुँदा होटेल व्यवसाय सञ्चालनमा निकै समस्या भएको व्यवसायी अम्बादत्त भट्टले बताए । ‘होटेलमा आउने ग्राहकलाई पानी दिन सकिएको छैन । यसले गर्दा व्यवसाय सञ्चालनमै समस्या भएको छ,’ उनले भने ।

सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजार बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । खानेपानीको अभाव हुँदा सदरमुकामको शाहीलेक, गढी र गोठलापानीका बासिन्दा मारमा परेका हुन् । पानी अभावले शौचालयसमेत प्रयोग गर्न मुस्किल भएको नागरिक समाज बैतडीका संयोजक गणेश ठकुराठीले बताए । 

हाहाकार भएपछि नेपाली सेनाले खानेपानी वितरण गरेको छ । हनुमान ध्वज गुल्मले गुल्ममा रहेको पानी गढीका स्थानीय तथा होटेल व्यवसायीलाई वितरण गरेको गुल्मपति खिलबहादुर रानाले बताए । गढीमा रहेका सरकारी कार्यालयलाई पनि खानेपानी वितरण गरिएको उनले बताए । सेनाले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, जिल्ला कारागार, जिल्ला प्रशासनलगायत स्थानीय र व्यवसायीलाई पानी सहयोग गरिरहेको हो । -सीपी लोहिया/न्यूज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।