ताजा अपडेट »

चैतकाे पहिलो साताभित्र स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस

सोमबार, ०८ कार्तिक २०७८, १८ : ०१
6 Shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी चैत महिनाकाे पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले ‘अर्ली इलेक्सन’ को माग गरिरहेका बेला प्रधानमन्त्री देउवाले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरासँग छलफल गरेका थिए ।  

छलफलमा आयोगले कानून बमोजिम स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिने र त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्ने भएकाले चैत पहिलो साताभित्र चुनाव गर्न सिफारिस गरेको हो । आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न पनि प्रस्ताव गरेको छ । अघिल्लो पटक स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो ।  

साथै आयोगले आगामी २१ फागुन ०७८ फागुनबाट रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति तोक्ने विषयमा पनि प्रधानमन्त्री देउवासँग छलफल भएको जानकारी दिएको छ । आउँदो फागुनबाट रिक्त हुने राष्ट्रिय सभा सदस्य पदपूर्तिसम्बन्धमा र स्थानीय तहको आगामी निर्वाचन, प्रतिनिधि सभाका रिक्त चार सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचन सम्बन्धमा प्रधानमन्त्री र आयुक्तहरूबीच छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।