ताजा अपडेट »

कम्युनिष्टहरु बाहिरबाट नास्तिक मनबाट आस्तिक हुन्छन्: धर्मगुरु शंकराचार्य

सोमबार, ०८ कार्तिक २०७८, १६ : ४०
20 Shares

भैरहवा । हिन्दुहरुका सर्वोच्च धर्मगुरु मानिएका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपाल यस अघि पनि हिन्दु राष्ट्र रहेको, अहिले पनि हिन्दु राष्ट्र रहेको र भविष्यमा समेत हिन्दु राष्ट्र नै रहने दावी गरेका छन् । उनले नेपालबाट सुरु गरि यो अभियानलाई एशिया महाद्विप सम्म नै पु¥याउने बताए ।

हिन्दुहरुका सर्वोच्च धर्मगुरु जगन्नाथपुरी स्थित गोबद्र्धन मठका पिठाधिश शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराज ३ दिने कार्यक्रम अन्तर्गत अहिले भैरहवामा रहेका छन् । विश्व ओमकार एकता महाअभियानको आयोजनामा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सहित धर्मगुरुको भैरहवा भ्रमण गराईको छ । भैरहवामा आयोजित आध्यात्मिक जागरण बिराट एकता धर्म सभामा प्रवचन दिदै धर्म गुरु शंकराचार्यले हिन्दुराष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुन सक्ने जिकिर गरे । चीनको आँखा नेपालमा रहेको चीनबाट नेपाल असुरक्षित भए यसको असर भारतमा समेत पर्ने उनको भनाई छ ।

उनले हिन्दु राष्ट्रबारे यहाका कम्युनिष्टहरु पनि राजी भए पनि बाहिरबाट खुलेर लाग्न नसकेको बताए । कम्युनिष्टहरु बाहिरबाट नास्तिक रहेको देखाए पनि भित्रबाट उनिहरु धर्मप्रति आस्तिक नै रहेको शंकराचार्यले बताए । कुनै ब्यक्ति वा बस्तु एक क्षणको लागी पनि धर्म निरपेक्ष हुन नसक्ने उनको भनाई छ । यसर्थ धर्म निरपेक्ष भनेको एक शब्द मात्र भएको र यसको कुनै अर्थ छैन । उनले सबै धर्महरुको मूल धर्म सनातन धर्म नै रहेको हुदा यसको शान्तीपूर्वक प्रचारको लागी सबै लाग्न आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै नेपालका धर्मगुरु डाक्टर चिन्तामणि योगीले अहिले सबै नेपालीहरुको मूख्य उद्देश्य नेपाललाई हिन्दु राष्ट्र बनाउनु रहेको बताए । उनले यसको लागी विश्व ओमकार महाअभियान नै गठन गरि लागेको उनले बताए । नेपाललाई हिन्दु राष्ट्र कायम गराउने अभियानमा हिन्दु धर्मका सर्वोच्च गुरु शंकराचार्यको पनि चासो रहेको र सोही अनुसार उनको नेपाल आगमन भएको उनले जानकारी दिए ।

आदि शंकराचार्यले सनातन धर्मको रक्षा र प्रसार गर्न चार दिशामा चार पीठ स्थापना गरेका थिए । ४ वटा पिठमा ४ जना नै शंकराचार्य छन् । भैरहवा आउने शंकराचार्य गोर्वधन धामका वर्तमान पिठाधिश हुन् । चारवटै शंकराचार्य मध्ये पनि सबै भन्दा उच्च रहेका शंकराचार्य निश्छलानन्द सरस्वती पहिलो पटक भैरहवा आएका हुन । यस अघि ३ बर्ष पहिला उनि नेपाल आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित एउटै मञ्चमा प्रवचन गरेका थिए ।

मूल आयोजक समितीका संयोजक समेत रहेका उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले जगदगुरुको आगमनले यो क्षेत्र नै पवित्र भएको बताए । उनले यो कार्यक्रम कुनै राजनैतिक रुपमा नभई बिशुद्ध रुपमा नेपाललाई हिन्दु राष्ट्र कायम गराउने उद्देश्य सहित आयोजना गरिएको बताए । कार्यक्रम पूर्व भैरहवाको हनुमान मन्दिरबाट भब्य झाँकी निकालिएको थियो ।

शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराज संगै उनका अनुयायीहरु, बिभिन्न भारतीय धार्मिक गुरु एवम नेपाली धार्मिक गुरुहरुको अहिले भैरहवा क्षेत्रमा बाक्लो उपस्थिति रहेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा