ताजा अपडेट »

डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ

सोमबार, ०८ कार्तिक २०७८, १५ : २५
46 Shares

जलेश्वर । सुङ्गुर डोर्याएर वर्षैभरी गाउँगाउँ चाहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीको महान पर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ भएको छ । गाँस, बास र कपासकै जोरजाममा पिँढीदर पिँढीलाई हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरी आफ्ना जीवनका हरेक दुख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको महोत्तरीको गौशाला नगरपालिका– ११ की ६५ वर्षीया लक्ष्मीनियाँदेवी डोमिनले बताईन्।

जिल्लाको विभिन्न गाउँ, सहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा नानाथरिका परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ७० वर्षीया भुल्लीदेवी डोमिनले बताईन् । डालो बुन्दै गरेकी जिल्लाको लोहारपट्टी नगरपालिकाकी ५५ वर्षीया मरनीदेवी डोमिनले भनीन् “कात्तिक लाग्ने बितिकै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ, बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निक्कै खुशी हुन्छौं ।”

छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेंतकै चोयाबाटै बनाइएका डालो, नाङ्गला र टालुटपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा ५/७ वटा बाँसका भाँडाकुडा किन्नु पर्दछ । छठपर्वको आगमनसँगै डोमका घर आँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै मनरा नगरपालिकाका ५० वर्षीय शङ्कर डोमले आफुहरु सोही कारण दिनरात व्रतालुका निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाए ।

त्यस्तै जिल्ला सदरमुकाम जलेश्वरका ईन्दल डोमले डालो, नाङ्गलो र टालुटपरी बेचेर कात्तिकभरीमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गरेर आउने गरेको बताए । त्यसैगरी जिल्लाको एकडारा गाउँपालिकाका महिन्दर डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्गलो बेचेर प्रतिव्यक्ति रु २० देखि ३० हजार र प्रत्येक परिवारले रु दुई/तीन लाखसम्म आम्दानी गर्ने गरेको जानकारी दिए।

अहिले गाउँ–गाउँमा डोम जातीका प्रत्येक घरमा बाँस र बेंतको थुप्रो राखिएको छ । डोम परिवारका सबै बाँस र बेंतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । छठपर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।