ताजा अपडेट »

समूह विजेताको लागि कनकाई र बागमतीको प्रतिस्पर्धा

सोमबार, ०८ कार्तिक २०७८, ०९ : २७
2 Shares

काठमाडौं । झापाको कनकाइ नगरपालिका र सर्लाहीको बागमती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह 'ए'  विजेताको लागि प्रतिस्पर्धा हुँदैछ ।  सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने दिनको दोस्रो खेलमा दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल मध्यान्ह १२ बजे हुनेछ । 

समूह ‘ए’ मा दुवै टोलीले दुई खेलबाट समान ६ अंक जोडेका छन् । यो खेलको विजेता समूह विजेता बन्दै नकआउट चरणमा पुग्नेछ । यदि बराबरीले भने गोल अन्तरका आधारमा कनकाई नकआउट चरणमा स्थान बनाउनेछ ।दिनको पहिलो खेलमा बिहान ९ बजेपछि महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका आमुनेसामुने हुनेछन् । दुई टोलीबीच प्रतिष्ठाको लडाइँ हुनेछ ।  दुवै टोली अंकविहीन रहँदै समूह चरणबाट यसअघि नै बाहिरिसकेका छन् । त्यसैले दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । 

अन्तिम खेलमा दिउँसो ३ बजे समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले समूह विजेता बन्दै नकआउट चरणमा स्थान पक्का गर्नेछ । कालिका र ललितपुर नगरपालिकाले एक खेलबाट समान ३ अंक जोडेका छन् र समान १० गोल पनि रहेको छ ।  यस समूहबाट कागेश्वरी नगरपालिका दुई खेलमा अंकविहीन रहँदै समूह चरणबाट बाहिरिसकेको छ । यसअघि समूह ‘डी’ अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका र समूह ‘सी’ अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकाले शतप्रतिशत जितसहित नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् । 

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।  यस्तै प्रतियोगिताको विजेताले पाँच लाख रुपैंया र उपविजेताले तीन लाख रुपैंया प्राप्त गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।