ताजा अपडेट »

ओलीको आँखाको इसारामा जब विल्सनविक्रमले उड्नै लागेको फ्लाइट क्यान्सिल गरे…

सोमबार, ०८ कार्तिक २०७८, ०७ : ३२
6 Shares

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल गृहजिल्ला झापाको भ्रमणमा छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिए । भद्रपुरमा उनको जम्काभेट कलाकार विल्सन विक्रम राईसँग भयो । राई आफैं पनि ओलीका फ्यान ।

त्यसमाथि ओलीले पनि रुचाएका एवं गृहजिल्लाबासी कलाकार । भद्रपुर विमानस्थलमा राईसँग अध्यक्ष ओलीको आँखा जुध्यो । इसारामै ओलीले सोधे कता हो ? जवाफमा आँखाको इशारामै विल्सनले काठमाडौं जान लागेको भने । ओलीले हुँदैन यतै रोकिन भने इशारामै । विल्सनले 'म जान लागेको हुँदैन'? भने आँखाको इशारामै ।

ओलीले आँखाको इशारामै कडा रुपमा तपाईँ यतै रोकिनुस्, नजानुस् भने पछि विल्सन रोकिए । ओलीलाई विल्सन रोकिएलान् जस्तो लागेको थिएन ।तर एकैपटक भद्रपुर-१ पृथ्वीनगरस्थित पिता मोहन ओलीको घरमा विल्सनलाई देखेपछि ओलीले सोधे, तपाईँ पनि यता, टिकट क्यान्सिल गर्नुभयो ?यो कुरा विल्सन स्वयंले अध्यक्ष ओलीकै अगाडि भनेका हुन् । बिर्तामोडमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्यकर्ता हँसाउन आएका विल्सनले ओलीलाई हसाउँदै आफू कसरी कार्यक्रममा आएको जानकारी गराए ।

लिम्बुको छोरा, नेम्वाङको भाञ्जा भन्दै उनले सुवास नेम्वाङलाई मामा पर्ने भन्दै सेवारो (नमस्ते) भने । अनि ओलीसँग आफ्नो छुट्टै सम्बन्ध रहेको आँखा झिम्केपछि त्यसको भाव बुझिहाल्ने बताए । ओलीको आग्रहमा आफूले काठमाडौंको टिकट क्यान्सिल गरेर कार्यक्रममा सहभागी भएको उनले सुनाए ।

उपस्थित नेता कार्यकर्तालाई हँसाउने क्रममा विल्सनले केही जोकका साथै गीत पनि गाएका थिए । उनको प्रस्तुतिमा नेता कार्यकर्तासँगै अध्यक्ष ओली पनि मख्ख थिए । विल्सन ओलीका पिता मोहन ओलीको घरदेखि  प्रवेश कार्यक्रममा आफ्नो प्रस्तुतिसँग सँगै थिए । ओलीले पनि आफ्नो सम्बोधनमा विल्सनलाई सम्झिएका थिए । कार्यक्रममा काठमाडौंमा कलाकार राजा रानेन्द्र र गायिका पूर्णकला बिसी पनि पुगेका थिए । उनीहरुले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।