ताजा अपडेट »

यु–१८ च्याम्पियनसिप: नेपाल माल्दिभ्ससँग बराबरीमा रोकियो

शुक्रबार, ०३ असोज २०७६, १७ : ४३
8 Shares

असोज ३,
काठमाण्डौं । १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । गत वर्षको विजेता टिम काठमाडौंमा भएको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको हो । १३ औं मिनेटमा गोल खाएर पछि परेको नेपालले ७४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो । माल्दिभ्सका लागि हसन नाजिमले गोल गरे भने नेपालका लागि मनिष डाँगीले गरे । १८ वर्षमुनिको साफ च्याम्पियनसिप लगातार दुई पटक जितेको नेपालको लक्ष्य यस वर्ष पनि उपाधि जित्ने हो ।

दाेस्राे हाफमा नेपालले आधा दर्जन गाेलकाे प्रयास गरेपनि माल्दिभ्सका गाेलरक्षक हसन अलिफले उच्च प्रदर्शन गरेपछि नेपालकाे लगातारकाे आक्रमणलाई जाेगाए । खेलकाे १३ औं मिनेटमा माल्दिभ्सले पेनाल्टी गाेलमार्फत अग्रता लिएकाे थियो । पेनाल्टी बक्समा राेशन दाेङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान आफैले सहजै गाेल गरेका थिए । त्यसअघि खेलकाे दाेस्राे मिनेटमा नेपालले गाेल गरेपनि रेफ्रीले अफसाईड दिए । राेशन दाेङकाे फ्रि किकमा ब्रिजेश चाैधरीले गाेल गरेपनि अफसाईड हुन पुगेका थिए । २० औं मिनेटमा ब्रिजेश वान भर्सेस वानमा चुक्दा नेपाल बराबरीबाट चुक्याे । ३४ औं मिनेटमा कप्तान हसनकाे बक्स बाहिरकाे प्रहार दाेस्राे बारबाट थाेरै बाहिरियाे । ४१ औं मिनेटमा मनिष डाँगीकाे प्रहार गाेलरक्षकले सहजै बचाए । ४९ औं मिनेटमा हसन लवकाे प्रहार पाेस्टबाट थाेरै बाहिरियाे । ५३ औं मिनेटमा नितिन थापाकाे प्रहार आकासियाे । ५९ औं मिनेटमा कप्तान जय गुरुङकाे पासमा ब्रिजेश चाैधरीकाे हेड पाेस्टबाट थाेरै बाहिरिदा नेपाल बराबरीबाट चुक्याे । ६३ औं मिनेटमा कप्तान जय गुरुङकाे झन्डै २० यार्ड टाढाकाे प्रहारलाई गाेलरक्षक हसन अलिफले मुस्किलले बचाए ।

६६ औं मिनेटमा ब्रिजेश चाैधरीकाे पासमा मनिष डाँगीले एकल प्रयासमा पहिलाे बार च्यापेर गरेकाे प्रहार गाेलरक्षकले सहजै बचाए । ७१ औं मिनेटमा नितिन थापाकाे प्रहार क्रसबारमा लाग्दै फर्कदा नेपाल बराबरीबाट चुक्याे । लगातार पाेस्ट आक्रमण बुनेकाे नेपालका लागि मनिष डाँगीले ७४ औं मिनेटमा बराबरी गाेल फर्काए । दाेस्राे हाफमा माल्दिभ्सले नेपालकाे पाेस्टमा एक आक्रमण मात्रै बुन्याे । इन्ज्युरी समयमा ब्रिजेशकाे प्रयास गाेल रक्षकले बचाए । त्यसपछि दुवै टाेलीबाट थप गाेल निस्कन नसक्दा खेल १-१ गाेलकाे बराबरीमा सकियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।