ताजा अपडेट »

संविधानको पुनः लेखन माग गर्दै जनमुक्तिले गर्यो बुटवलमा सभा

शुक्रबार, ०३ असोज २०७६, १७ : ०५
4 Shares

असोज ३,
बुटवल । मुलुकभर संविधान घोषणा भएको आजको दिन असोज ३ लाई संविधान दिवसका रुपमा मनाइरहँदा राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद रुपन्देहीले भने विरोध सभा गरेका छन् । बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै राजष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले अहिलेको संविधान पुनःलेखन हुनुपर्ने माग गरे । संविधानमा भएका त्रुटीहरुलाई सच्याउन केही विषय थपघट गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले भने-‘संविधान पुनःलेखन गर्न राजनैतिक दल तथा अहिलेको सरकार सहमत हुनुपर्छ ।’

संविधानले आदिवासी जनजातिका अधिकारलाई समेट्न नसकेको तथा भ्रष्टाचारलाई निर्मूल पार्नका लागि संविधानमा व्यवस्था नभएको उनको आरोप छ । सरकारले आह्वान गरेअनुसार संविधान दिवसलाई जनताले उत्सव तथा दिपावलीको रुपमा स्वीकार नगरेको बताउँदै उनले राष्ट्रिय जनमुक्ति पार्टीले संविधान पुनः लेखन नहुँदासम्म दिवसका रुपमा नमनाउने प्रष्ट पारे । सरकारमा सहभागि मधेशी दलतर्फ इंगीतगर्दै उनले संविधान संसोधनको सहमति गरेर सरकारमा गएको दलले १५ महिनासम्म पनि संसोधन गर्न नसक्नु जनताप्रतिको ठूलो घात भएको बताए । कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष दलबहादुर विरकट्टा मगरले अहिलेको संविधान २०४७ सालको संविधान भन्दा पनि पश्चगामी भएको आरोप लगाए । अहिलेको संविधानले आदिवासी जनजातिका अधिकारलाई सुनीश्चित गर्न नसकेको तथा विभिन्न देशमा रहेर नेपालीहरुलाई समेट्न नसकेको उनको आरोप छ । अर्का उपाध्यक्ष कमला थापा मगरले अहिलेको संविधान नश्नवादी संविधान भएको आरोप लगाइन् । पार्टीको प्रदेश विभाग प्रमुख समेत रहेकी थापालले एनआरएन र गोर्खालीहरुलाई एकैठाउँमा समेकोमा आपत्ति जनाइन् । रोजगारका लागि विभिन्न समयमा नेपालबाट विदेशीएका गोर्खाली सैनिकहरुले वंशजका आधारमा दोहोरो नागरिकता पाउनुपर्ने माग राख्दै उनले एक पटकको नेपाली सधैभरीको नेपाली हुन पाउनु पर्ने व्यवस्था संविधानमा उल्लेख हुनुपर्नेमा जोड दिइन् ।

बुटवलको राजमार्ग चौराहाबाट सुरुभएको र्याली ट्राफिक चोकमा पुगी सभामा परिणत भएको थियो । राज्य पुनः संरचना सम्बन्धि अन्तरिम संविधान २०६३ को व्यवस्था गर, शक्तिशाली नागरिक छानविन आयोग गठन गर, भ्रष्टाचारलाई संवैधानिक रुपमा देशद्रोह सरहको अपराध घोषणा गर, महिलाहरुको लागि ५० प्रतिशत प्रतिनिधित्व र रोजगारको व्यवस्था गर, संविधान २०७२ पुनःलेखन गर लगायत नारासहितका प्लेकार्ड सहित र्यालीमा सहभागी भएका थिए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीले संविधान दिवसको विरोध गर्दै कालो ब्यानगरमा विभिन्न माग सहितका नाराहरु प्रस्तुत गरेको थियो । यसैबीच प्रदेश सरकारले ३ दिनसम्म संविधान दिवस मनाइरहँदा राजिष्ट्रय जनमुक्ति पार्टीले भने शनिबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा भ्रष्टाचार विरुद्धको कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।