ताजा अपडेट »

संविधान संस्थागत गर्ने काममा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

शुक्रबार, ०३ असोज २०७६, १२ : ०६
6 Shares

असोज ३,
बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले समृद्ध मुलुक निर्माणका लागि राज्यलाई बलियो बनाउन आग्रह गरेका छन् । राज्यलाई बलियो बनाउने काममा सरकारलाई सहयोग गर्न उनले आह्वान गरेका हुन् । मुख्यमन्त्री पोखरेलले संविधानलाई संस्थागत गर्ने काममा सरकारलाई सहयोग गर्न आग्रह गरे । प्रदेश पाँच सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको तीन दिने कार्यक्रमको बिशेष समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संघीयता प्रशासनिक खर्चका हिसाबले केही खर्चिलो देखिए पनि जनताले सेवा सुविधा प्राप्त गर्ने हिसाबले सस्तो भएको टिप्पणी गरे ।

पछिल्लो समयमा बिभिन्न कोणबाट संघीयता बढी खर्चिलो देखिएकाले दिगो हुन सक्दैनकी भन्ने टिकाटिप्पणीलाई खण्डन गर्दै उनले सरकारको दृष्टिबाट हेर्दा खर्चिलो देखिएपनि सेवा सुविधा प्राप्तीकालागि जनताले चुकाईरहेको खर्च संघीयताकै कारण कटौती भएको उल्लेख गरे । जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको संविधानमा सबै प्रकारका विशेषता समेटिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले जनताको मौलिक अधिकारका दृष्टिले पनि जनतालाई अधिकार सम्पन्न बनाएको संविधान महत्वपूर्ण रहेको बताए । उनले राजनीतिक आन्दोलन पुरा भएको जिकिर गर्दै अब नेपाली जनता पछाडी फर्किन नसक्ने र पछाडी फर्काउने काम पनि स्वीकार्य नभएको उल्लेख गरे । त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जारी भएको संविधान कार्यान्वयनमा तीन तहका सरकार कृयाशिल रहेको र आर्थिक बिकास समृद्धिको काममा सरकारले काम गरेको उल्लेख गरे । विशेष समारोह पुर्व बुटवलको राजमार्ग चौराहादेखि बिभिन्न जातजातीका भेषभुसा तथा संस्कृतिका झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो । झाँकी सहितको ¥यालीमा ९६ समुह सहभागि भएका थिए ।

त्यसमध्ये उत्कृष्ट १० वटा समुहलाई पुरस्कृत गरिएको थियो । झाँकी सहितको ¥यालीमा तिलोत्तमा नेवा मयजु खलः रुपन्देही प्रथम, पद्म चैत्य बिहार बुटवल १ र कालिका मानवज्ञान माध्यमिक बिद्यालय द्वितीय र जीतगढी सराँय व्यबस्थापन समिति बुटवल, सैनामैना नगरपालिका तथा नेवा समाज प्रदेश पाँच रुपन्देही तृतीय भएका थिए । त्यस्तै राधेश्याम महिला भजन मण्डली बुटवल, क्षेत्री समाज नेपाल रुपन्देही, खेमा तमु छोंज धी देवदह र थारु सांस्कृतिक मयुर नाच सान्त्वना भएका थिए । झाँकीमा उत्कृष्ट समुहलाई क्रमश ः प्रथमलाई ४० हजार, द्वितीयलाई २६ हजार ६६७, तृतीयलाई १३ हजार ३३३ र सान्त्वनालाई ९ हजार ३३३ रुपैंया पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई प्रदेश पाँचका प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री पोखरेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।
संविधान दिवसकै अवसरमा साँझ बुटवल मण्डप स्थित गणतन्त्र स्तम्भमा दीपावली गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले संविधान दिवसलाई बिशेष रुपमा तीन दिनसम्म मनाउने निर्णय गरेको थियो । सोही अनुसार बिहिबार सरसफाई, सरकारी कार्यालय तथा चोकहरुमा राष्ट्रिय झण्डा फहराएको छ भने शनिबार रक्तदान तथा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम तय गरेको छ । त्यस्तै सरकारी कार्यालयमा तीनै दिन साँझ दीपावली गरिँदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।