ताजा अपडेट »

साफ यू-१८ : उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दै

शुक्रबार, ०३ असोज २०७६, ११ : २६
4 Shares

लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने सुरमा रहेको नेपालले साफ यू-१८ च्याम्पियनसिपको उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ३ बजे हल्चोकस्थित एपीएफ रंगशालामा हुनेछ । तुलनात्मक रुपमा नेपाल माल्दिभ्सभन्दा बलियो टोली हो । नेपालले पछिल्लो दुवै पटक जित्दा माल्दिभ्स भने दोस्रो चरणमा पुग्न पनि निकै कसरत गर्नुपरेको छ । अघिल्लो संस्करणमा माल्दिभ्स भुटानसँग पनि पराजित भएको थियो । त्यसो त नेपालले पनि अघिल्लो संस्करणमा भुटानसँग हार बेहोर्दै प्रतियोगिता सुरुवात गरेको थियो । तर राउन्ड रोबिन भएकाले अन्य नतिजा पनि नेपाल अनुकूल रहँदा उपाधि जित्न सफल भएको थियो ।

प्रतियोगिताको पूर्वसन्ध्यामा बोल्दै नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले समूह चरणको खेल खासै कठिन नहुने बताए । ‘तयारी राम्रो भएको छ । अब मैदानमा उत्रेर योजना सफल बनाउने हो । डेढ महिना प्रशिक्षणका क्रममा खेलाडीले निकै मिहिनेत गरेका छन्,’ उनले भने, ‘हामीले समूह चरण खेलेपछि सेमिफाइनलमा भने केहि कठिन हुन सक्छ । भारत र बंगलादेशजस्ता टोली अर्को समूहमा रहेकाले हामीले राम्रो तयारी गर्नुपर्छ ।' कप्तान जय गुरुङले पनि तयारी राम्रो भएकाले घरेलु मैदानमा उपाधि जोगाउन सकिने अभिव्यक्ति दिए । ‘ हामी विगत डेढ महिनादेखि सँगै रहेर प्रशिक्षण गरेका छौं । सबै खेलाडीले यस प्रतियोगिताको लागि कडा मिहिनेत गरेका छन् । अब मैदानमा आफ्नो कौशल देखाएर घरेलु दर्शकलाई खुसी पार्न चाहन्छौं,’ उनले भने ।

माल्दिभ्सका प्रशिक्षक साजली मोहमदले पहिलो खेल नै घरेलु टोलीविरुद्ध हुँदा केहि दबाब रहने स्वीकारे । ‘ हामीले प्रतियोगिताको पहिलो खेल नै घरेलु टोलीविरुद्ध खेल्दैछौं । केहि दबाब हुन्छ तर हामी तयार छौं । टोलीमा सिनियर टोलीकै अनुभव बटुलिसकेका खेलाडी कप्तानका रुपमा छन् । उनकै स्तरका अन्य खेलाडी पनि रहेकाले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु,’ उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।