ताजा अपडेट »

‘फुच्ची साइक्लिष्ट’ अश्विनीको साइकल मोह

आइतबार, ०७ कार्तिक २०७८, १२ : ५७
8 Shares


भैरहवा । शनिबार गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा राख्ने बुद्धमूर्तिलाई सिद्धार्थ उद्योग बायिाज्य संघले नगर परिक्रमा गराएको थियो । उद्योग बाणिज्य संघ संगै भैरहवाका प्रायः संघ संस्थाहरुको सहभागीता रहेको थियो । तर, र्यालीको सबैभन्दा अगाडि रहेकी एकजना सानी बालिकाले सबैको ध्यान तानिन् । आफू भन्दा ठूलो साइकलमा सबैभन्दा अग्रभागमा रहेकी उनि बुद्धमूर्तिसँगै नगर परिक्रमा मात्रै गरिनन् मूर्तिसंगै साइकलमा लुम्बिनीसम्म नै पुगिन् ।

र्यालीमा भैरहवा क्षेत्रका ३० बढी साइक्लिस्टहरु सहभागी थिए । प्रायः सबैको उमेर ३० वर्ष माथिनै थियो । त्यो ३० जनाको भिडमा एक सानी बालिका पनि थिइन् । उनि हुन् अस्विनी खरेल । उनको उमेर ९ वर्ष भयो । आफ्ना बुवाको उमेर बराबरका साइक्लिष्टसंगै उनले करिब २२ किलोमिटर यात्रा संगसंगै साइकल चलाएर पुरा गरिन् । उनको बारेमा बुझ्दैजाँदा उनको साइकल प्रतिको यो मोह यस अघिनै देखिएको थियो । गत बर्षको असोजमा जेसिआई सिद्धार्थले आयोजना गरेको भैरहवा रामग्राम त्रिवेणी सम्मको साइकल यात्रामा उनि पनि सहभागी भई त्रिवेणीसम्म पुगेकी थिइन् । यतिमात्र हैन उनले सैनामैनामा आयोजित साइकल कोरामा समेत भाग लिएर पुरस्कार जितेको बताउछिन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ नयाँ कोलोनीमा बस्दै आएकी अस्विनी अहिले काशी नोबल एकेडमीमा ४ कक्षामा अध्ययन गरिरहेकी छिन् । उनि पढाइसंगै अन्य अतिरिक्त क्रियाकलापहरुमा समेत अब्बल छिन् । नाचगानमा पनि रुचि छ । त्यसमा पनि अहिले ‘साइक्लिङ भने पछि हुरुक्क हुन्छे’, उनको ठूलो बुवा बिजय खरेलले भने ।

उनलाई लडिएला,चोट लाग्ला भन्ने डर पटक्कै छैन । घरमा अझै पनि हजुरआमा, आमाहरुले केटाकेटीले ठूलो साइकल चलाउनु हँुदैन भन्नु हुन्छ, तर उनि ठूलो बुवा बिजयलाई पछ्याउदै साइकल चलाँउछिन् । ‘अब मेरो बानी भइसक्यो ठूलो साइकिल चलाउने जेसिसमा साइकल चलाएर परासी रामग्रामसम्म पुग्दा पुरस्कारबापत ३ हजार पुरस्कार पाएपछि अझै हौसिएकी छु ।’ उनले भनिन्। ‘अहिले स्कूलबाट फर्केर बेलुका बेलुका घरवरपर चलाउँछु, अरु बेला पढ्न पनि पर्यो।’ भविष्यमा उत्कृष्ट साइक्लिष्ट बन्ने हो, यहाँ वरपर हुने यस्ता कार्यक्रममा पनि भागलिनी हो, उनले योजना सुनाइन् ।

विजय खरेल नियमित साइकल चालक हुन्। बिहान उनि साइकल चलाएका देखेर अश्विनी पनि ठूलो बुवासंगै जाने अडान लिए पछि उनलाई सानो दूरीको यात्रामा लैजाने गरेको विजय बताउँछन्। पछि उसको गजबको स्टेमिना देखेर अन्य लामो दुरीको यात्रामा पनि लैजान थालेको र अहिले उसले नियमित साइकल चलाउने गरेको उनको भनाई छ । अहिले भने उनले गियरवाला साइकल मोटाचे चलाउँछिन्। साइकलको तौल र उनको तौल लगभग उस्तै छ । चलाउने साइकलको सिट अग्लो भएकाले सिट डाउन गरी चलाउँछिन् ।

साइकल चलाउँदा खेल पनि हुने र ब्यायाम पनि हुने हुँदा यसलाई निरन्तरता दिने र ठूलो भएपछि लामो दूरीको साइक्लिष्ट बन्ने इच्छा रहेको उनले सुनाइन् । भैरहवामा अहिले ‘साइकल सिटी भैरहवा’ भनेर संगठित रुपमै साइक्लिष्टहरु साइकल चलाउने गरेका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा