ताजा अपडेट »

किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ

शुक्रबार, ०५ कार्तिक २०७८, १५ : १५
6 Shares

चैत्रको चर्को घाममा ब्याडको तयारी गर्ने किसानले वैसाख र जेठमा धानको बिऊ छर्न तल्लिन हुन्छन् । असारको सिमसिम पानी होस् वा निरन्तरको झरी कुनै प्रवाह नगरी मानो रोपेर मुरी फलाउने समय भन्दै उत्पादन भएको बिऊ रोप्न व्यस्त हुन्छन् । अधिकांश किसानले ऋण खोजेर,खेताला लगाएर,अर्म–पर्म गरेर खेती लगाउने गर्दछन् । वर्षभरी खाने अन्नबाली उत्पादनका लागि सक्दो मिहिनेत गरेर राम्रो फलको आशा गर्ने किसानको स्वभाव र कर्मनै हो । विशेषगरी अन्नभण्डार मानिने तराइका किसान असार–साउनमा धान रोपेर पाकेको धान असोज–कार्तिकमा स्याहार्न व्यवस्त हुन्छन्।

हिलो,मैलौ,साहुको ऋण,आफ्ना पसिनाले खेती लगाएपछि भदौ लागेसँगै चाडपर्व सुरु हुन्छन् । फुलेको,फलेको खेती हेर्दै ,स्याहार गर्दै किसानहरुले चाडपर्व मनाई रहेका हुन्छन् । अझ भनौं कैयौं किसानहरुले उक्त बाली स्याहरेर बिक्री गरी साहुको ऋण तिर्ने,नयाँ लत्ता–कपडा किन्ने र पर्व हर्षोल्लासका साथ मनाउने योजना हुन्छ । बिऊको लागि ब्याड बनाउनेदेखि खेती पाक्दासम्म मात्रै होइन , उक्त खेती स्याहारेर भकारीमा नराख्दासम्म वा बेचेर साहुको ऋण नतिर्दासम्म किसानलाई चयन हुँदैन । त्यो अवधीसम्म मल,खाद,गोडमेल,काट्ने,सुकाउने,धान झार्ने लगाएतका कामहरु हुन्छन्। किसानलाई खेती लगाउन आफ्नो मिहिनेत र कर्मले मात्रै हुँदैन मौसमले पनि साथ दिनु पर्दछ ।

यस वर्ष मौसमले किसानलाई घात गर्यो,धानबाली मात्रै होइन । किसानको मुटुनै दुख्नेगरी वर्षाले चुट्यो । हर्षोल्लासका साथ दशैं मनाइरहेका कृषकलाई एकाएक दशा आइलाग्यो । दशैंपछिको अविरल वर्षाले काटेर खेतमा सुकाइएको धानबाली डुबायो,पाकेको धानबाली सोत्तर हुनेगरी डुबायो । किसानको ६ महिनाको मिहिनेत र वर्षभरीको गास खोसियो । तराइको अन्न भण्डार मानिने रुपन्देही,नवलपरासी,कपिलबस्तु,बांके लगाएतका जिल्लामा वर्षाले धानबाली डुबायो, नष्ट गर्यो । त्यसैगरी लुम्बिनीका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँचीमा पनि धानबाली क्षति भएको छ ।

देशैभर परेको अविरल वर्षाले देशैभरको धानबालीमा क्षति पुर्यायो । कुनै एक जिल्ला र प्रदेशका मात्रै नभई देशैभरका विभिन्न स्थानका बाली नष्ट हुँदा देशैभरका किसान मर्माहत छन् । निरन्तरको बाढीले धानबाली र किसानलाई मात्रै क्षति होइन । धानबाली नष्ट हुँदा सबैले खाने अन्नबाली नष्ट भएको छ । हजारौं हेक्टरको धानबाली क्षति हुँदा लाखौं नेपालीले खाने चामलको अभाव हुनेछ । धान उत्पादक किसानको मिहिनेत र क्षतिसँगै राज्यको अरबौंको कारोबार तथा आयमा हस आएको छ ।

लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार पहिलो चरणमा प्रदेशका सबै जिल्लाहरूको प्रारम्भिक क्षतिको विवरण लिने कार्य सम्पन्न भएको छ । पहिलो चरणमा संकलन गरिएको विवरणअनुसार लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपैयाँ बराबरको क्षति भएको छ । प्रदेशमा कुल तीन लाख १७ हजार चार सय १४ मेट्रिक टन धानमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।

प्रदेशको खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार वर्षाले सबैभन्दा बढी क्षति रुपन्देहीमा पु¥याएको छ । मन्त्रालयको तथ्यांकअनुसार रुपन्देहीमा ६७ हजार पाँच सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा बाढीको कारण क्षति पुगेको छ । कपिलवस्तुमा ६४ हजार ३५०, बर्दियामा ४९ हजार ६ सय ३८, दाङमा ३७ हजार नौ सय ३६, बाँकेमा ३५ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा पूर्णरूपमा बाढीले क्षति पुर्याएको छ ।

वर्षाले पछिल्लो तीन दिनमा मुलुकभर १० अर्ब रुपैंयाँ बराबरको बालीनालीमा असर पुर्याएको कृषि तथा पशुपन्छी मन्त्रालयको अनुमान छ । अहिलेसम्म ६ अर्व रुपैयाँ बराबर क्षतिको विवरण मन्त्रालयमा पुगेको छ । लगतको संकलन जारी रहेको हुँदा अझै पूर्ण क्षति एकिन हुन सकेको छैन । बेमौसमी वर्षाले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा करिब ४३ हजार हेक्टरमा साढे चार अर्बभन्दा बढीको धानबालीमा क्षति पुर्याएको छ ।

वर्षाले धानबालीमा पुर्याएको क्षति केवल किसानको क्षति होइन। समग्र जनता र राज्यको क्षति हो । तर चोट धेरै किसानलाई छ । पहिलो क्षति हुने वर्गनै किसान हो । निकै मिहिनेत,कष्ट,ऋण र संघर्षले उत्पादन गरेको अन्नबाली नोक्सान हुँदाअधिकांश किसान मर्माहत छन् । उनीहरुको आत्म मात्रै दुखेको छैन,साहुको ऋण कसरी तिर्ने,धानवालीसँग जोडिएका सपना कसरी पूरा गर्ने भन्ने त्रासले त्रसित छन् । सबै वर्ग र तहका जनतालाई खाद्यान्न उत्पादन गर्ने कृषक निकै ग्रसित भएका छन् । पाकेर थन्काउने बेलाको खेती वर्षाले डुबाउँदा र बगाउँदा किसानहरुलाई निकै चोट पुगेको छ । वर्षाले गरेको क्षतिले किसानको मन दुखेको छ ।

बाली नष्ट भएर गम्भीर पीडामा रहेका किसानलाई तत्काल उनीहरुको पीडामा मल्हम लगाउन आवश्यक छ । वर्षासँगै बगेका आँशु रोक्न जरुरी छ। खेती गरेर केहि हुँदैन भन्ने बुझाइलाई गलत सावित गर्नु पर्दछ । किसानको मर्कामा राज्य छ भन्ने कुराको महसुस गराउनु पर्दछ । संघीय पद्धति अनुसार भएका संरचना, स्थानीय, प्रदेश र केन्द्रिय सरकारले किसानको समस्यामा अभिभावकत्वको भूमिका निर्वाह गर्नु पर्दछ । ताकि हजरौं किसान विस्थापित नहुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।