ताजा अपडेट »

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्दै

शुक्रबार, ०५ कार्तिक २०७८, १० : ४१

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका  लागि प्रस्ताव राख्दैछन् ।आज दिउँसो १ बजे डाकिएको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी भएको एमाले प्रदेशसभा सदस्य हिक्मत कार्कीले जानकारी दिए । तर उक्त प्रस्तावमा आज नै मतदान हुन्छ या हुन्न भन्ने टुंगो नभएको उनले बताए ।

दसैँ मनाउन गएका सबै प्रदेशसभा सदस्यहरु विराटनगर फर्किनसकेकाले प्रस्ताव आज टेबुल भए पनि मतदान भने अर्को बैठकमा हुने सम्भावना रहेको उनको भनाइ छ ।मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराए पनि त्यसअघि नै संसद बैठक स्थगित भइसकेको थियो ।

असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्राबधानका कारण आचार्य विश्वासको मत लिन बाध्य छन् ।गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्यले दसैँअघि नै असोज १० मा विश्वासको मत लिनुपर्ने प्रतिपक्षीहरूले दबाब दिँदै आएका थिए । भदौ ९ मा नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको थियो ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर पार्टी फुटेपछि प्रदेश-१ मा एमालेका ४१ सांसद छन् । त्यसमध्ये एक जना सभामुख हुन् भने र एक जना फरार छन् ।विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।