ताजा अपडेट »

रिउस पेनाल्टीमा चुक्दा बार्सिलोना जोगियो

बुधबार, ०१ असोज २०७६, १० : १४
2 Shares

असोज १,
काठमाण्डौं । बोरुसिया डर्टमुन्डका कप्तान मार्को रिउसको दोस्रो हाफको पेनाल्टी प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएपछि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ । खेलको अवधिभर डर्टमुन्डले निकै अवसर सिर्जना गरेपनि बार्सिलोनाका जर्मन गोलरक्षक स्टेगन बोरुसियाका लागि बाधक बनिरहे । पहिलो हाफमा थ्रोगन हाजार्डले उत्कृष्ट मुभ बनाउँदै रिउसलाई दिएको पासमा कप्तान रिउसको प्रहार स्टेगनले बचाएका थिए । पहिलो हाफमा दुवै टोलीले उल्लेख्य आक्रमण बुन्न सकेनन् ।

दोस्रो हाफको ५७ औं मिनेटमा बोरुसियाले पेनाल्टीको अवसर पायो । बार्सिलोनाका नेल्सन सेमेडोले इंग्लिस विंगर जेडन सान्चोलाई लडाएपछि रेफ्रीले पेनाल्टीको निर्णय दिए । तर रिउसले आफ्नो दायाँ तर्फ प्रहार गरेको पेनाल्टीलाई स्टेगनले पुरै पोस्टको दुरी डाइभ हान्दै विफल पारे । उनले रिबाउन्ड गोललाइन नजिक पुगेपनि दोस्रो प्रयासमा बचाए । घरेलु समर्थकमाझ निकै राम्रो प्रदर्शन गरेको बोरुसियाले थप अवसर सिर्जना गर्यो । कप्तान रिउस र पूर्व बार्सिलोना फरवार्ड पाको अल्कासेरको प्रयासमा स्टेगन पुन: बाधक बने । खेल सकिएपछि बोरुसियाका खेलाडीको हाउभाउले पनि बार्सिलोनाविरुद्ध बराबरी उचित नतिजा नरहेको संकेत गरेको थियो । खेलमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सु फातीले नयाँ कीर्तिमान कायम गरे । उनी १६ वर्ष ३ सय २१ दिनको उमेरमा मैदान उत्रँदै च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडी बने । यसअघि बोजानले १७ वर्ष २२ दिनको उमेरमा खेलेका थिए । च्याम्पियन्स लिग इतिहासमै भने उनी तेस्रा कान्छा हुन् । उनले खेलको सुरुवाती समयमा राम्रो लय समातेका थिए । उनलाई सुरुवाती मिनेटमै डिफेन्डर म्याट्स हमल्सले डरलाग्दो ट्याकल गरेका थिए ।

फातीको स्थानमा दोस्रो हाफमा लिओनेल मेस्सी मैदान प्रवेश गरे । चोटका कारण विश्राममा रहेका मेस्सीले सिजनको पहिलो खेल खेल्ने क्रममा राम्रो छाप बसाउन सकेनन् । खेल अवधिभर बार्सिलोनाले पोस्टमा जम्मा एक पटक प्रहार गर्न सक्यो । बार्सिलोनाका लागि गोलरक्षक टेर स्टेगनले म्यान अफ द म्याच प्रदर्शन गर्दै अंकविहिन हुनबाट रोके । बार्सिलोनाले सन् २००९-१० पछि पहिलो पटक च्याम्पियन्स लिगको पहिलो खेलमा गोल गर्न सकेन । बार्सिलोनाले त्यसबेला इन्टर मिलानविरुद्ध गोल गर्न सकेको थिएन । त्यस सिजन इन्टर नै उपाधि जित्न सफल रहेको थियो । यद्यपि यस नतिजासँगै समूह चरणमा बार्सिलोना पछिल्लो १४ खेलमा जर्मन टोलीविरुद्ध अपराजित नतिजा कायम गर्न सफल रहेको छ । यस क्रममा टोलीले ११ जित र ३ बराबरीको नतिजा दर्ता गरेको छ । समूहको अर्को खेलमा इन्टर मिलान र स्लाभिया प्राह १-१ को बराबरीमा रोकिए । पाहुना टोली प्राहाले पिटर ओलायिन्काको ६३ औं मिनेटको गोलमा अग्रता लिएको थियो । इन्ज्युरी समयमा स्टेफानो सेन्सीको फ्रिकिक प्रहार क्रसबारमा लागेर फर्केपछि निको बरेल्लाले रिबाउन्डमा गोल गर्दै हार टारेका थिए । यसै सिजन इन्टरमा आबद्ध भएका बरेल्लाले वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेका हुन् । समूहमा सबै टोलीको १-१ अंक छ र गोल गरेको आधारमा प्राहा र इन्टर शीर्ष २ स्थानमा रहेका छन् । - एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।