ताजा अपडेट »

गौतमबुद्ध विमानस्थलमा राखिने ढाई अर्बको बुद्धमूर्ति भैरहवा आइपुग्यो

शुक्रबार, ०५ कार्तिक २०७८, ०७ : १५
2 Shares

रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो ।

करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने जनाइएको छ । सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो ।

एक हजार ८०० किलो तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ । आज कागजी प्रक्रिया मिलाएर शनिबार सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराई एयरपोर्टमा राख्ने तयारी गरिएको छ ।

सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घ, लुम्बिनी होटल सङ्घलगायतका सङ्घसंस्थाले बुद्धमूर्ति स्वागतका लागि भव्य तयारी गरेका छन् । विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको जनाइएको छ ।बुद्धमूर्ति यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम छ । त्यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विषेश प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।