ताजा अपडेट »

महिला मेयर कप : राष्ट्रिय खेलाडी प्रेरित बागमतीको विजयी सुरुआत

विहीबार, ०४ कार्तिक २०७८, ११ : ४३
2 Shares

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट खेलमा सर्लाहीको बागमती नगरपालिकाले विजयी सुरुआत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा बागमतीले महालक्ष्मी नगरपालिका, ललितपुरलाई ९-० गोल अन्तरले पराजित गरेको हो । 

बागमतीको जितमा राष्ट्रिय टोलीकी स्ट्राइकर रश्मिकुमारी घिसिङले ह्याटि्रकसहित ५ गोल गरिन् । यस्तै राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी रेणुका नगरकोटेले दुई गोल गर्दा बागमती नगरपालिकाकी कप्तान अनु राई र सुदिपा भोलोनले समान १-१  गोल गरे ।

रश्मिले खेलको १६,२३,३१,६२ र ७५ मिनेटमा गोल गरिन्। यस्तै रेणुकाले ३५ र ६८ मिनेटमा गोल गर्दा सदिपाले ४७ र अनु राईले ६७ मिनेटमा गोल गरिन् । महालक्ष्मीकी गोलरक्षक संगीता वाइबाले बागमतीको आधा दर्जनभन्दा बढी प्रहार विफल बनाएकी थिइन् । खेलको प्लेयर अफ दि म्याच बागमतकी  रश्मिकुमारी घिसिङ भइन् । उनले ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरिन् । 

राष्ट्रिय टोलीका तीन खेलाडी प्रेरित बागमतीले योसँगै समूह ए मा महत्त्वपूर्ण तीन अंक जोडेको छ । बागमतीमा रश्मि र रेणुकासहित डिफेन्डर गीता राना छिन् । यता, महालक्ष्मीमा भने कुनै पनि विभागीय खेलाडी छैनन् ।प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूह ए मा चार र अन्य समूहमा तीन टोली छन् । समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन् ।

दिनमा तीन खेल आयोजना हुँदा समूह चरणको खेल १५ कात्तिकसम्म हुनेछ । २२ गते बाट प्रतियोगिताको नक आउट खेल हुँदा फाइनल खेल २८ कात्तिकमा हुनेछ ।गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय (नेपाल पुलिस, आर्मी, एपीएफ) सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन् । 

फाइनल पुग्ने दुई क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन् । यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ । उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ ।  

यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ । यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् । राष्ट्रिय महिला लिगको साविक विजेता एपीएफ क्लब हो । डबल राउन्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले दोस्रो स्थानको आर्मीभन्दा १० अंकको अग्रतासहित उपाधि हात पारेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।