ताजा अपडेट »

बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?]

विहीबार, ०४ कार्तिक २०७८, ०७ : ५२
8 Shares

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् भने ३६ जना बढी बेपत्ता छन् । 

गृहमन्त्रालका अनुसार सबैभन्दा बढी पाँचथरमा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ । यस गाउँपालिका– ५ कुरुम्बामा मात्रै हालसम्म १५ जनाको पहिराले पुरिएर मृत्यु भएको छ । उक्त गाउँपालिका– १, २, ४ र ७ मा गरी थप छ जनाको मृत्यु भएको हो । हालसम्म तीन जना बेपत्ता हुनुका साथै छ जना घाइते भएका छन् । 

त्यसपछि डोटीमा पहिरोमै पुरिएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । पाँचजना घाइते छन् । इलाममा पहिरोमा परेर १३ को मृत्यु भएको छ । तीनजना बेपत्ता छन् भने दुईजना घाइते भएका छन् । 

बझाङ र हुम्लामा पहिरोमा परी सात–सातजनाको मृत्यु भएको छ । बझाङमा थप २१ बेपत्ता छन् । पहिरोमै परेर धनकुटामा ६ जनाको ज्यान गएको छ भने पाँच घाइते छन् । त्यस्तै, सुनसरीमा बाढीपहिरोमा पाँच र बैतडीमा पहिरोमा चारजनाको मृत्यु भएको छ । बैतडीमा दुईजना घाइते छन् ।

उदयपुर र डडेल्धुरामा दुई–दुईजनाको मृत्यु भएको छ भने मोरङ, भोजपुर, कपिलवस्तु, कैलाली, कालिकोट, प्युठान र सोलुखुम्बुमा बाढीपहिरोमा एक–एकजनाको ज्यान गएको छ । 

गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ । 

आवास गुमाउने पाँच जनासम्मको परिवारलाई  तत्काल रु १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।