ताजा अपडेट »

कर्णालीमा बाढी : आठको मृत्यु, ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा सारियो

बुधबार, ०३ कार्तिक २०७८, २१ : २६
10 Shares

कर्णाली । आइतबार साँझदेखिको अविरल वर्षात्का कारण आएको बाढीपहिरामा परी कर्णालीमा हालसम्म आठ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढी-पहिरामा परी मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका-४ खर्पेलगाउँका एकै परिवारका छ जना, जुम्ला र कालीकोटका एक/एक रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बाढीपहिराबाट तीन जना घाइते भएको र एक जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका-८ पलातीवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी १३ वर्षीया छोरी बाचु न्यौपाने रहेका छन् । गोठबाट घर जाने क्रममा पहिरामा परी घाइते हुनुभएका उनीहरूका रास्कोट अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–११ स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गङ्गाप्रसाद जैशीको आज सकुशल उद्धार गरिएको छ । चार किमी तल नदी किनारमा फेला परेका जैसी बाबियौचारमा उपचारपछि घर फर्किएको प्रहरीले जनायो ।

त्यस्तै अविरलको वर्षात्ले बाढी–पहिराका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ । कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-४ झालाका ११ घरधुरीका ७९ जना परिवारलाई शिवालय माध्यमिक विद्यालयमा सारिएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालीकोटको राम्नी बस्तीका २५० जनालाई स्थानीय विद्यालय र स्वास्थ्यचौकीमा सारिएको छ । दैलेखको रामघाट बजार डुबानमा परेको छ । आठबीस नगरपालिका-१ मा अवस्थित उक्त बजारमा कर्णाली नदी पसेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले २२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

बेमौसमी बाढीले जुम्ला, दैलेख र सुर्खेतमा धानबालीमा ठूलो क्षति पुर्याएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी–पहिराबाट कालीकोट, जुम्ला र मुगुमा गरी सात गाई/गोरु र १३१ भेडाबाख्रा मरेका छन् । जुम्लामा मार्सी धानको खेतबारी नै तिला नदीले कटान गरेको छ ।

बाढीले बगाएका एक जनाको सकुशल उद्वार

कर्णाली नदीको बाढीमा बगेका एक जनाको सकुशल उद्वार गरिएको छ । पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका–११ स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गङ्गाप्रसाद जैशीको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सुर्खेतको कुइनेबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार रहेका जैसीलाई आज बिहान झण्डै चार किमी टाढा बाढीले बगाएको थियो । प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले बाढीले बगाएका सामान व्यवस्थापन गर्ने क्रममा उनलाई बगाएको बताए ।

बाढीले बगाएर बेपत्ता बनाएपछि अस्थायी प्रहरी चौकी तातापानीबाट छ जना प्रहरी टोली उद्धारका लागि खटिएको थियो । “प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा चार किमी तल झ्याङझ्याङ्गे भन्ने स्थानमा फेला पर्नुभयो, बाबियाचौरस्थित मेडिकलमा उपचारपछि उहाँ अहिले घर फर्कनुभएको छ”, प्रहरी प्रवक्ता श्रेष्ठले भने । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।