ताजा अपडेट »

गीताको आधार : श्रीमानको मोबाइल व्यापार

बुधबार, ०३ कार्तिक २०७८, २० : ०७

२०६३ सालतिर नेपालमा मोबाइलको त्यती सहज सुविधा थिएन । मोबाइलको प्रयोग सुरुवाती अवस्थामै थियो, बिस्तारै विकास हुँदै थियो । मोबाइल बोक्ने चलन मौलाउँदै बिस्तारै मौलाउँदै थियो । तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामका गीता शर्मा र उनका श्रीमानले आफ्नै गाउँमा मोबाइल पसल खोल्ने निधो गरे । गीता भन्छिन् ‘त्यो बेला त्यति धेरै बजार झांगियता भन्ने हामीले सोंचेका पनि थिएनौ ,उहाँले मोबाइल बनाउने तालिम लिनुभयो,त्यसपछिनै हामीले मोबाइल पसल शुरु गरेको हो। त्यो बेला मोबाइलमा सानो समस्या देखियो भने पनि बुटवल काठमाण्डौ लैजानुपर्ने बाध्यता थियो । हामीले सोंचेभन्दा छिटो नै प्रतिफल प्राप्त गर्यौं । त्यसबेला मोबाइल बनाउने मात्र होइन किन्न आउनेहरु पनि प्रसस्तै भेटिन्थे । त्यहि बेलाको खटाईले हो, आजको परिस्थितिमा संघर्ष गर्न सिकेको ।’

उनका श्रीमान् सामान लिन बुटवल भैरहवा ओहोर–दोहर गरिरहन्थे। सबै रामै्र चलिरहेको थियो गीतालाई लाग्थ्यो सानो स्वर्ग भनेको सायद यहि होला । ‘जे जस्तो भएपनि सास जोगाउन र छोराछोरीका लागि बाँच्न पर्ने रहेछ । ‘गहभरी आँशुसहित उनले भनिन् । त्यो दिन पनि श्रीमान् हांसिखुशी बाहिर निस्किएको बताइन् । बुटवलबाट पसल आउँदै गर्दा नयाँ मिलमा मोटर साइकल दुर्घटना भयो । तर,उनी श्रीमानको प्रतिक्षामा थिइन् । ‘सधैंका दिन एकनास हुँदैन भन्थे हो रहेछ, म नआउन्जेल पसल गएर बस भनेर निस्किनु भएका उहाँ त्यसपछि कहिल्यै फर्किनु भएन । त्यहि कारण म पनि यो पसल मेरो जीवन कालभरी बन्द नगर्ने प्रतिज्ञा गरेकी छु ।’ उनले भनिन् ।

उनले श्रीमानको मृत्यु पछि एक्लै संघर्ष गर्ने आंट साहस बटुलेर अगाडि बढेको बताइन्। उनी भन्छिन् ‘केहि माइती र केहि साथीभाईले कोहि ठाउँमा सहयोग गरेपनि लडाई त एक्लो थियो र, छ ।’ ‘छोराछोरीले भोलि के गर्छन त्यो थाहा छैन। तर, म बाँचुन्जेल मेरो श्रीमानले छोडेर गएका २ छोराछोरी पछिको यो पनि एक हो त्यसैले यसैलाई सम्हालेर अगाडि बढ्छु । श्रीमानले बनाएको हेरी–हेरी मोबाइल सम्बन्धी अलि–अलि सिकेकि थिएँ , पछि गर्दै जांदा धेरैले राम्रो बनाउन थालेकी छस् भन्दा अझै राम्रो बनाउन प्रेरणा दिन्छ ।’ उनले भनिन् ।

उनी अहिले मोबाइल पसल मात्र गर्दिनन् । मोबाइल पसलको रेखदेख पनि हुने गरी मोबाइल पसलको आडैमा जुत्ता–झोला पसल पनि खोलेकी छन् । मोबाइल पसलको चिना–जानीले गर्दा यो पसल पनि राम्रो चलेको उनी सुनाउँछिन् । उनका एक छोरा र एक छोरी छन् । ‘छोराछोरी ठूला हुँदै गए । अब सामान्य खर्चले धान्दैन त्यहि भएर पनि अर्को व्यवसाय शुरु गरेकी हुँ ।’ उनी भन्छिन् । उनको घर तिलोत्तमा ५ मणिग्राममा छ । श्रीमानको मृत्यु हुनुभन्दा अगाडि एक तलासँगै माथि पनि कोठा थप्नेगरी शुरु गरिएको घर आर्थिक अभावका कारण अझै पूा भएको छैन ,अधुरो सपनासंगै पूरा नभएको घर पूरा गर्ने उनको सोँच छ ।

१७ वर्षको कलिलो उमेरमा विवाह भयो । उनी अहिले ३७ वर्षकी भएको बताउँछिन् । यो २० वर्षको अन्तरालमा गरेको संघर्षको लेखाजोखा नभएको बताउँछिन् । साथ दिन्छु भनेर ल्याउनुभएका श्रीमानले बीचैमा छोडेर जानुभयो, छोराछोरी सानै तिनीहरुको रेखदेख लालनपालनसँगै छोडेर जानुभएको मोबाइल पसलको जिम्मेवारी एकैचोटि उठाउनु पर्दा निकै गार्हो भएको थियो । जीवन साथी गुमाउनुको चोट बोक्दै घर भित्र घर बाहिरको काम एक्लै गर्नुपर्ने, साँझ अलि ढिला भयो भने समाजमा हेरिने दृष्टि , आफूलाई गर्ने ब्यवहारबाट गुज्रिन पनि निकै गार्हो भयो । अहिले केहि सहज भएको छ । ’ उनले आफ्नो संघर्षपूर्ण अनुभव सुनाइन् ।

एकल महिला भएकै कारण हेपिनु परेका कैयौं तिता व्यवहार र अनुभूति सुनाइन् । आज–भोलि अरुले के भन्छ भन्दा पनि आफूले के गर्ने हो र कसरी जिम्मेवारी पूरा गर्ने हो भन्नेमा धेरै समय बिताउने गरेको समेत उनले बताइन्। उनी भन्छिन् ‘एकल महिला भएर बाँच्नुको पीडा सुनाई नसक्नु छ । कतिपय पीडाहरुले कमजोर मात्र बनाउने रहेनछन् । बाँच्नलाई आत्मबल पनि थप्ने रहेछ । पीडाहरुका बीचबाट अवसर खोज्दै बाँच्न सक्ने हो भने थोरै नै भएपनि सफलता प्राप्त गर्न सकिने रहेछ । सहाराबिना बाँचेर सहारा बन्न सकिने रहेछ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।