ताजा अपडेट »

सुदूरपश्चिममा बाढी-पहिरोमा परी २५ जनाको मृत्यु, २२ जना बेपत्ता

बुधबार, ०३ कार्तिक २०७८, १८ : २३
2 Shares

धनगढी । आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बाढी-पहिरोमा परेर २२ जना बेपत्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दका अनुसार डोटीका ११, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका- ३ का ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडा रहेका छ्न् । बाढी-पहिरोमा परेर डोटीकै सायलका ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादुर बि.क., मोहन बि.क., १३ वर्षीया पवित्रा बि.क., १६ वर्षीया रविन बि.क.को पनि बाढी-पहिरोमा परेर मृत्यु भएको छ ।

यसैगरी डोटीकै शिखर नगरपालिका- ११ की ३६ वर्षीया मन्धरा बलायर, डोटीकै सायल गाउँपालिका- ५ की  ५५ वर्षीया झुपरी सार्की, ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुङ्गेलडको पनि बाढी-पहिरोमा परेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता बिक्रम चन्दले बताए ।

उता, अविरल वर्षापछि खसेको पहिरो घरमा पस्दा च्यापिएर डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता चन्दका अनुसार मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका- १ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । डडेल्धुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका- ३ की ६५ वर्षीया नर्मदादेवी शाहीको पनि मृत्यु भएको प्रवक्ता चन्दले बताए ।

अविरल वर्षाका कारण आएको बाढी-पहिरोमा परेर बैतडीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका- ५ बिष्टपाली बस्ने ७१ वर्षीया परुदेवी महरा रहेकी छन् । यसैगरी बैतडीकी २५ वर्षीया भानु पार्की, २१ वर्षीया पवित्रा पार्की र तीन वर्षीय देवन पार्कीको पनि मर्त्यु भएको छ ।

यसैगरी बाढी-पहिरोमा परेर बझाङमा मृत्यु हुको संख्या आठ पुगेको छ । मृतकमध्ये पाँच जनाको अन्तिम संस्कारसमेत गरिएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका- ४ डिक्लामा पहिरोमा परेर बेपत्ता भएकामध्ये तीन जना, छ वर्षीय सुवास सार्की, चार वर्षीय विकास सार्की र सात वर्षीय आयुष पार्की मृत भेटिएका छन् । 

यसैगरी बझाङको छविस पाथिभेरा गाउँपालिका- ६ का १० वर्षीय कालु कठायतको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ । बझाङकै खप्तडछान्ना गाउँपालिका- ४ का धर्मराज रोकायाको घरमाथिबाट पहिरो गएर घर पुरिँदा रोकायासहित उनकी श्रीमती जयसरा रोकायाको समेत ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर- ५ मा पहिरोले घर पुर्दा वीरु गिरीको ज्यान गएको छ भने उनकी श्रीमती चन्द्रा गिरी बेपत्ता भएकी छन् ।

प्रदेश प्रहरी प्रवक्ता चन्दका अनुसार बझाङको थलारा गाउँपालिका- ४ डिख्लामा पहिरोमा परी अझै २० जना बेपत्ता छन् । मंगलबार बिहान गएको पहिरोमा परी सातवटा घर बगेका र २३ जना बेपत्ता भएका उनले बताए । बेपत्ता हुनेमा हासुदेवी पार्की, सीमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सीता सार्की, परभास सार्की, भूमिका सार्की, सिरन्जीवी सार्की, ईश्वरादेवी सार्की, सन्दीप सार्की र सविना सार्की रहेका छन् ।

सोही ठाउँका सरोज सार्की, शर्मिलाकुमारी सार्की, पम्मा सार्की,  मदन सार्की, कलु सार्की र एलिसा सार्की पनि बेपत्ता छन् । 

यसैगरी लगातारको वर्षापछि आएको बाढीमा परी कैलालीमा एक जना बेपत्ता छन् । प्रहरी प्रवक्ता चन्दका अनुसार डोटीको सायल गाउँपालिका- १ रोकाया गाउँ बस्ने ७४ वर्षीय वीरे रोका स्थानीय खोलाले बगाउँदा बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण बाढी-पहिरोमा परी डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना घाइते भएका छन् । -मोहन जोशी/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।