ताजा अपडेट »

भोलिबाट उपमेयर कप महिला लिग छनोट, पहिलो दिन तीन खेल

बुधबार, ०३ कार्तिक २०७८, १७ : ०२
2 Shares

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता बुधबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको ‘उपमेयर कप प्रतियोगिता’ को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटो गर्न लागेको हो । 

पहिलो दिन तीन खेल आयोजना हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । ब्यस्त तालिकाबीच प्रतियोगितामा प्रत्येक दिन तीन खेल हुनेछन् । 

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूह ए मा चार र अन्य समूहमा तीन टोली रहेका छन् । समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन् । 

२२ कात्तिकमा नक आउट चरणका खेल सुरु हुनेछ । फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । 

गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय (नेपाल पुलिस, आर्मी, एपीएफ) सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन् । दुई क्लब छनोट भएसँगै अर्काे राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन् । 

यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ । 

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ ।

यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वाेत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ । यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय महिला लिगको साविक विजेता एपीएफ क्लब हो । डबल राउन्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले दोस्रो स्थानको आर्मीभन्दा १० अंकको अग्रतासहित उपाधि हात पारेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।