ताजा अपडेट »

खाद्यान्न अभाव हुने ठाउँमै धानबाली नष्ट

बुधबार, ०३ कार्तिक २०७८, १३ : २२
18 Shares

जाजरकोट । स्थानीय खाद्यन्न उत्पादनले मुस्किलले ६ महिना मात्र खाना पुग्ने कर्णालीको जाजरकोट, रुकुम पश्चिम र डोल्पामा आइतबारदेखि परेको अविरल वर्षाले सबैभन्दा बढी अन्नबालीमै क्षति पुगेको छ । 

भित्र्याउन लागेको धानबालीमा व्यापक क्षति पुगेपछि यहाँका किसानहरूमा चिन्ता बढेको छ । भित्र्याउनका लागि धान काटेर ठिक्क बनाएकै समयमा पानी पर्दा धान कुहिन थालेको रुकुम पश्चिम आठबीसकोट नगरपालिका राडीका विरेन्द्र बटालाले जानकारी दिए । उनका अनुसार अधिकांश किसानले धान काटेर भित्र्याउनका लागि तयारी हालतमा राखिएको थियो । एकाएक परेको पानीका कारण सबै बाली डुबेपछि खाद्यान्न अभाव भइरहने यहाँका ठाउँहरुमा झन समस्या उत्पन्न भएको छ ।

तीन जिल्लामा मकै पछिको दोस्रो महत्वपूर्ण बाली धान हो । बाहिरबाट आयत गरिएको चामललाई विस्थापित गरि आफ्नै खेतबारीमा उत्पादन गरिएको चामलले समस्या टार्दै आएका सर्बसाधारणलाइ यो वर्षाले उठीबास नै लगाएको डोल्पा त्रिपुरासुन्दरी नगरपालिका बगरका विष्णुप्रसाद देवकोटाले बताए । 

खेतबारी नहुनेलाई खेतबारी हुनेले सहयोग गर्दै आएकोमा त्यो बाटो समेत बन्द भएको भेरी नगरपालिका–१ रावतगाउँका मधुकर वादीले बताए । पछिल्लो समयमा नयाँ नयाँ जातको धानको बिउ भित्र्याएर भारी मात्रामा धानको उत्पादन वृद्धी गरेका कृषकलाई वर्षाले नराम्रोसँग क्षति बनाएपछि पीडा थपिएको हो । खाद्यान्न संकट हुने क्षेत्रमा यो वर्षाका कारण चर्को नोक्सान गरेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका कृषकहरु लाई अब अर्को विकल्प नहुँदा हैरानी भएको हो ।-हेमन्त केसी/न्युज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।