ताजा अपडेट »

ढुंगाडमा बर्षा रोकियो, पीडितलाई खानबस्नको चिन्ता

बुधबार, ०३ कार्तिक २०७८, १३ : १९
8 Shares

बैतडी । बर्षा रोकिएसँगै बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाडमा फसेका व्यक्तिहरू  वारपार गर्न सक्ने भएका छन् । आइतबार रातीदेखिको बर्षाले ढुंगाडको टापुमा फसेका व्यक्तिहरू नदीको बहाव कम भएपछि वारपार गर्न थालेको वडाअध्यक्ष रामबहादुर धामीले बताए।

सेती नदीको चारैतिरबाट आएको भंगालो केही कम भएसँगै स्थानीयबासी ज्यान जोगाउन टापु छोडेर निस्कन थालेका छन् । तर उनीहरूमा के खाने ? कहाँ बस्ने ? भन्ने चिन्ताले सताउँन थालेको छ ।  बाढीले ढुंगाडका पाँच घर बगाएको छ । अन्य घरमा पानी पसेर अन्नपात नष्ट भएका छन् । यहाँ एक सय  ५० बिगाह जमीन  बगरमा परिणत भएको उनले बताए । स्थानीयको बिचल्ली भए पनि सरकारले उनीहरूको उद्धार तथा राहतका कुनै कदम नचालेको उनको गुनासो छ ।

धामीले भने, ‘हिजो टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गर्दा कुनै पहल भएन् ।’ काठमाडौंमै रहेका सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै उद्धारका लागी अनुरोध गरेका थिए । धनगढीमा रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष रामबहादुर धामीले मन्त्रालयमै गएर अनुरोध गर्दा समेत प्रदेश सरकारले कुनै पहल नगरेको उनले बताए ।

ढुंगाडबासी बर्षा कम भएसँगै ज्यान जोगाउन सफल भए पनि खान बस्न समस्या भएको स्थानीय शिक्षक मिनबहादुर चन्दले बताए । स्थानीयबासीको पाँकिसकेको र पाक्नै लागेको धान, कोदो र बदाम लगाएको खेत बगरमा परिणत भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।